Loading...
Loading...
६० वर्षमा परिचय बनाएको वारपाक १० सेकेण्डमा स्वाहा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गोरखा (वारपाक), वैशाख १६ – बाह्र सय भन्दा बढी घरधुरीको झुरुप्प वस्ती, पर्यटकीय गाउँ अनि भूकम्पको केन्द्रविन्दू । गोरखा सदरमुकामबाट १८ कोष टाढाको वारपाक गाउँ भूकम्प गएको तेस्रो दिनसम्म पनि सुनसानप्राय थियो ।

सबैजसो वासिन्दा गाउँको अलि सुरक्षित र समथर ठाउँमा पाल टाँगेर बसेका थिए । केही भने भूकम्पले भत्काएको घरको भग्नावशेष उधिन्दै पुरिएका सामग्री खोज्दै थिए । वारपाक गाउँ पुग्ने एक मात्रै मोटरबाटो बन्द थियो भने पैदलयात्रा मार्गको पनि अधिकाँश भाग भुइँचालोका कारण भत्किएका थिए । बाटोमा ठूल्ठूला पहिरो खसेर त्यहाँसम्म पुग्ने पैदलबाटो बन्द भएपनि केही भने जोखिम उठाएरै भएपनि आफन्तको अवस्था बुझ्न गाउँ उक्लिरहेका थिए ।

वारपाक गाविस प्रवेश गरेपछिको पहिलो गाउँ मान्द्रे हो । त्यहाँको ६५ घरधुरीको पूरै वस्ती भूकम्पका कारण खण्डहर बनेको छ । त्यो गाउँका मात्रै ७ जनाको ज्यान गएको छ । १२ जना भन्दा धेरै घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । बाटामै आफ्नो भत्किएको घर नियाल्दै गरेका ६६ वर्षका गोठालाल गुरुङ भेटिनुभयो, जसले भुकम्पका कारण परिवारका ३ जना गुमाउनुभएको थियो । अघिल्लो दिनमात्रै नातिनी र छोरीलाई चिहानमा पुरेका गोठालालले चिहान नाजिकै उभिएर भन्नुभयो, “आफू मर्न पनि सकिएन, आउँदाजाँदा चिहान हेर्न पनि डर लाग्छ ।” 

गोठालालकै छिमेकी ७५ वर्षका एक व्यक्तिको पनि भुकम्पका कारण घरभित्रै पुरिएर ज्यान गयो । खाडल खनेर पुर्ने जनशक्ति समेत नभएपछि केही छरछिमेकले भत्किएको घरको आँगन नजिकै दाहसंस्कार गरे । अरु मृतकहरुको पनि सामान्य विधि अपनाएर अन्तिम संस्कार गरिएको मान्दे्र गाउँका लोकबहादुर गुरुङले बताउनुभयो । मान्द्रेबाट डेढ घण्टाको उकालो हिँडेपछि पर्यटकीय वारपाक गाउँ सुरु हुन्छ । एकोहोरो कराउँदै बारीमा डुलिरहेका भेँडाको हूल हेर्दैमा थाहा हुन्थ्यो, वारपाक गाउँमा पहिलेको जस्तो उत्साह छैन । पाल टाँगेर बसेका स्थानीयबासिन्दाको अनुहारमा अझै त्रास बाँकी रहेको अनुमान गर्न सकिन्थ्यो ।

“६० वर्षमा पर्यटकीय गाउँको परिचय पाएको वारपाक १० सेकेण्डमा स्वाहा भयो” स्थानीय खेमराज घलेले भन्नुभयो, “अब पहिलेको वारपाक बनाउन यो पुस्ताबाट सम्भव छैन ।” हुन पनि हो, गाविसभरका १४ सय ७० मध्ये वारपाक गाउँ ११ शय बढी ७२ घरधुरीको वस्ती हो । प्राय एकैनासे घरधुरीको यो वस्तीका जम्मा ४ वटा घरमात्रै भुकम्पबाट सुरक्षित छन् । बाँकी केही पक्की घर ठाउँ ठाउँमा चिरिएका छन् भने ९५ प्रतिशत भन्दा बढी घरको जग कहाँ थियो भनेर थाहा पाउन सकिने अवस्थासम्म छैन ।

भूकम्पका कारण वारपाक गाविसभर ६७ जनाले ज्यान गुमाए, ६१ जनाको शव पहिचान गरि ओम्चेको चिहानडाँडामा गाडिएको छ भने हराएका ६ जनाको शव अझै फेला पर्न सकिएको छैन । वडा नम्वर ९ का सुम्दुर गुरुङले आमा, श्रीमती र छोरा गुमाउनुभयो । कस्तो बिडम्बना भने भूकम्पले घर लडाएपछि सल्किएको आगोका कारण जलेर उहाँका परिवारका ३ जनाको ज्यान गयो । “आमाको त डढेको टाउको र एउटा हात मात्रै भेटियो” संस्कार अनुसार टाउकोमा सेतो कपडा बाँधेर बसेका सुम्दुरले भन्नुभयो “बाँकी ज्यान त खरानी भैसकेको रहेछ ।”

भूकम्पका कारण ज्यान गुमाउनेमध्ये अधिकाँश बालबालिका र बृद्धबृद्धा छन् । “३ महिनाको बच्चादेखि ८८ वर्षका बृद्धसम्मको शव पहिचान गरेर चिहानाम गाडिएको छ” उद्धार र राहत वितरणका लागि वारपाक खटिएका सरकारी प्रतिनिधि कुलराज चालिसेले भन्नुभयो, “मृतकमध्ये अधिकाँश घरको कामकाजमा ब्यस्त भैरहेका बेला भुइँचालो गएको रहेछ ।” एउटै गाउँभित्र बिहे गर्ने चलनका कारण त्यहाँका हरेक  घरबिच अत्यन्तै निकटको पारिवारिक साइनो छ, त्यसकारण पनि पूरै वारपाक गाउँ शोकमा छ ।

“बैशाख १३ गते दिउँसो हामी आइपुग्दासम्म कोही पनि गाउँभित्र छिरेका थिएनन् ” प्रहरी निरीक्षक दिपक श्रेष्ठले भन्नुभयो “हामी आइपुगेपछि गाउँलेहरुमा आँट आयो र बल्ल आफ्ना पुरिएका मालताल खोज्न थाले ।” वैशाख १६ गते बिहानैदेखि पनि उनीहरु भत्एिको घरको काठपात तह लगाउँदै पुरिएका मालसामान निकाल्ने कोशिस गर्दै थिए । घर बिदामा आएका भारतीय सेनामा कार्यरत रामबहादुर गुरुङ पुरिएको ग्याँस चुल्हो निकाल्ने कोशिसमा हुनुहुन्थ्यो । “आमा ९५ वर्षको हुनुहुन्छ, उहाँकै सजिलोका लागि यो ग्याँस किनेको थिएँ ।” आँसु झार्दै रामबहादुरले भन्नुभयो “बिदा सकिनै लागिसक्यो, आमा र भूराभुरीलाई छोडेर हिँड्न मन मानेकै छैन ।” रामबहादुर जस्तै वारपाकका अधिकाँशले घरमा पुरिएको गरगहना, लत्ता कपडा र भाँडावर्तन निकालिसकेका छन् ।

तर १२ गतेयता लगातार भुँइचालो गइरहेकाले उनीहरुको मनमा शान्ति छैन । आफन्तलाई गाउँको हालखबर बताउन टेलिफोन छैन । गाउँमा विजुली वत्ती  नभएपछि गाउँ एकैपटक शोक र अन्धकारमा छ । घरबाट निकालिएको अन्नले धेरैदिन पुग्ने छाँटकाँट छैन । त्यसमाथि लगातार परेको झरीका कारण पाल टाँगेर बसेको जमिन हिलाम्मे छ । “सरकारले त धन्न गर्दिएको छ” मृतकको सनाखत र राहत वितरणमा दिनरात खटिएका जीतबहादुर घले भन्नुहुन्छ “तैपनि यति ठूलो गाउँमा सरकारी राहत त हात्तीको मुखमा जिरा जस्तै भएको छ ।”

हेलिकप्टरले दिनको ४ खेपसम्म राहत सामग्री ओसारिरहेको छ, तैपनि हरेकपल्ट आशावादी अनुहार लिएर हेलिप्याडसम्म पुगिरहेका छन्, वारपाकका बासिन्दा । केही भने अब राहत भन्दा भत्किएका संरचना बनाएर जनजीवन सामान्य बनाउनतिर लाग्नुपर्ने बताउँछन् । भूकम्पका कारण गाउँको गाविस कार्यालय, पशुसेवा र कृषि कार्यालयको सेवा केन्द्र, प्रहरी चौकीसहित हिमालय उच्च माविको भवन पूर्ण रुपमा क्षतिग्रस्त छ । स्थानीयबासिन्दालाई अरु भन्दा पनि सदरमुकामबाट वालुवावजारसम्म पुग्ने मोटरबाटो र त्यहाँबाट गाउँसम्म पुग्ने पैदलबाटो मर्मत भैदिएहुन्थ्यो भन्ने लागेको छ । “बाटो भयो भने यहाँका वासिन्दा आफैं सामान किनेर ल्याउन सक्षम छन् ।” सामाजिक परिचालक ओमबहादुर घलेले भन्नुभयो, “नभए यो गाउँ कुनै टापु भन्दा फरक हुन्न ।”

घरहरु लडेर बन्द भएको गाउँ प्रवेश गर्ने बाटो खुलाउन भने नेपाली सेना र भारतीय सेनाले काम थालेका छन्, त्यसमा नेपाल प्रहरीले समन्वयको काम गरिरहेको छ । “हामीले सकेसम्म जनजीवन सामान्य बनाएर फर्कने योजना बनाएका छौं” नेपाली सेनाका क्याप्टेन नारायणप्रसाद आचार्यले भन्नुभयो, “गाउँलेहरुले सहकार्य गरे भने जनजीवनलाई केही हदसम्म व्यवस्थित गर्न सकिन्छ ।”
श्रोत :-उज्यालो



from Taja News Online http://ift.tt/1DWIFbR
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.