भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

ध्रुव भट्टराई
१७ पुस, बिराटनगर । नेपाली कांग्रेसका नेताहरु वीपीको ‘राष्ट्रिय मेलमिलाप’को व्याख्या गरेर थाक्दैनन् । तर, देशमा मेलमिलाप गर्नु त परैजाओस्, यतिबेला कोइराला परिवारभित्रै बोलचाल नहुने स्थिति छ ।
कोइराला परिवारमा नीति र सिद्धान्तको भन्दा पनि वीपी र गिरिजाको पैत्रिक सम्पत्तिका नाममा ‘मेलमिलाप’ हुन सकेको छैन । कांग्रेसले मुलुकभर ३९ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा बिराटनगरस्थित कोइराला निवासले वीपीको मेलमिलापको धज्जी उडाएको छ ।
कांग्रेसका ‘महामानव’ वीपी कोइरालाको वाल्यकाल बितेको कोइराला निवास पछिल्लो समयमा पारिवारिक किचलोको शिकार बनेको छ । नेपाली राजनीतिको अगुवाइ गरेका वीपी, गिरिजाप्रसाददेखि वर्तमान राजनीतिको केन्द्रभागमा रहेका सभासद डा.शेखर कोइराला र नेतृ सुजता कोइरालाको वाल्यकाल बिराटनगरकै कोइराला निवासमा बितेको हो ।
तर, यतिबेला बिराटनगरको कोइराला निवास आन्तरिक कलहका कारण ओझेलमा परेको छ । परिवारका सदस्यले आ-आफनो भागका जग्गा टुक्रा पार्दै नयाँ घर बनाएका छन् । केही भाग जग्गा बिक्री भएसँगै नेपाली राजनीतिको घरोहरका रुपमा चिनिने कोइराला निवास प्रायः सुनसान देखिन थालेको छ ।
वीपीको अंशमा रहेको ८ कठ्ठा ६ धुर जग्गा छोराहरु प्रकाश कोइराला, श्रीहर्ष कोइराला र शशांक कोइराला तथा छोरी चेतनाले चार वर्षअघि पाँच करोडमा विराटआवास सेवालाई बिक्री गरेका थिए । आवास कम्पनीले सो जग्गामा अहिले भव्य महल ठ्याइसकेको छ ।
वीपीका सन्तानले आफ्नो अंशमा परेको कोइराला निवासको जग्गा बिक्री गर्न लाग्दा मोरङ्ग काङ्ग्रेसले सो कार्यको बिरोध समेत गरेको थियो । नेपाली राजनीतिको घरोहरका रुपमा रहेको कोइराला निवासको ऐतिहासिकता बचाउन पार्टी तथा सरकारले जग्गामा संग्रहालय बनाउनुपर्ने सभासद अमृत अर्याल बताउँछन् ।
कृष्णप्रसाद कोइराला सिन्धुलीको दुम्जाबाट एक सय बीस वर्ष अघिदेखि बिराटनगरको सो स्थानमा बस्न थालेका थिए । ०२५ सालमै कृष्णप्रसाद कोइरालाका छोराहरु वीपी, तारिणीप्रसाद, केशव र गिरिजाप्रसादबीच मौखिक अंशबण्डा भए पनि जग्गा टुक्रिएको थिएन । ६ वर्षअघि तारिणीप्रसादका छोरा ज्योति कोइरालाले दुई कठ्ठा जग्गा बिक्री गरेका थिए ।
अहिले कोइराला निवास वरिपरिको क्षेत्रमा नयाँ पक्की घर थपिएकाले निवाससमेत ओझेलमा पर्दै गएको छ । घर रहेको कोइराला निवास र जमीन भने केशवप्रसाद/ नोनाका छोराहरु निरञ्जन र डा. शेखरका नाममा छ ।
बिराटनगर उपमहानगरपालिका वडा नम्बर-९ स्थित कोशी अञ्चल अस्पतालकै अगाडि रहेको यो जग्गा बहुमुल्य एरियामा पर्छ । कोइराला निवासको जग्गालाई बिक्री गर्नबाट रोकेर ऐतिहासिक संग्रहालय बनाउनुपर्ने माग अहिले पनि काङ्ग्रेस नेता तथा कार्यकर्ताले गर्न छाडेका छैनन् ।
कांग्रेस कार्यकर्ताले संग्रहालय बनाउनुपर्ने माग अघि सार्दै आए पनि यही जग्गाका कारण कोइराला परिवारका दुई सदस्य डा. शेखर कोइराला र गिरिजापुत्री सुजातावीच बोलचाल समेत बन्दको स्थिति रहेको कांग्रेस नेताहरु बताउँछन् ।
नेतृ सुजाताले अहिले कोइराला निवास अगाडि परेको आफ्नो अंशमा नयाँ तीनतले घर निर्माण गरिसकेकी छिन् । उनले सोही घरमा आफ्ना दिवगत पिता गिरिजाप्रसाद कोइरालाका नाममा जीपी फाउण्डेशन नामक संस्थाको कार्यालय राखेकी छिन् ।
‘वीपीका नाममा रहेको जग्गा जमीन बेचेर खाने अनि त्यही सम्पत्तिका नाममा परिवारभित्रै बाझाबाझ गर्ने यस्ता नेताहरुले कसरी राष्ट्रिय मेलमिलाप गर्लान् र वीपीको इज्जत बचाउलान् ?’ बिराटनगरबासीहरु प्रश्न गर्छन् ।
from Online Khabar » समाचार http://ift.tt/1tpH22i
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

