भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सात मध्ये ६ ओटा प्रदेशमा सरकार गठनको म्यान्डेट पाएको एमाले र माओवादी केन्द्रभित्र मुख्यमन्त्री चयनको विषय कतै सहमति, कतै निर्वाचनको अवस्था देखिएको छ । माओवादीले आफ्नो भागमा परेको दुई ओटा प्रदेशमा सर्वसम्मत मुख्यमन्त्री छनोट गर्ने निर्णय लिइरहँदा चार ओटा प्रदेशमा सरकार गठन गर्न लागेको एमालेभित्र भने एउटा प्रदेशबाहेक सबैमा रस्साकस्सी चलेको छ । माओवादी केन्द्रसँग नेतृत्वले सहमति गरेपछि एमालेभित्र मुख्यमन्त्रीको विषयलाई लिएर तीव्र ध्रुवीकरण बढेको छ ।
अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेले कतै लागेका छैनन् । प्रदेश–५ मा सर्वसम्मत संसदीय दलको नेता चयन गरी वैचारिक नेता शंकर पोखरेल मुख्यमन्त्रीका लागि छनोट भएपछि एमाले नेतृत्व सकेसम्म सहमतिमै टुंगो लगाउने पक्षमा उभिएको हो । त्यसैका लागि स्थायी कमिटीले सर्वसम्मति र संभव नभए चुनावबाट दलको नेता चयन गरी मुख्यमन्त्री छान्न सबै प्रदेश कमिटीलाई निर्देशन दिएको छ । मुख्यमन्त्रीका आकांक्षीहरूले यो निर्णयलाई चुनावबाटै छान्ने भन्दै आन्तरिक गृहकार्य अघि बढाएका हुन् ।
मुख्यमन्त्रीका लागि एमालेभित्र प्रदेश–१ मा तीन जना आकांक्षी देखिएका छन् । सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य युवानेता शेरधन राई र जीवन घिमिरे मुख्यमन्त्रीका लागि दाबेदार हुन् । तीन जनाबीच प्रतिस्पर्धा देखिए पनि सचिव आचार्यले नेता घिमिरेलाई मुख्यमन्त्रीका दाबेदार ठान्दैनन् । उनले राईसँगै प्रतिस्पर्धा हुने र आफू जित्ने बताउँछन् । यता राई भने मुख्यमन्त्रीका आकांक्षा राख्ने सबैसँग कुराकानी भइरहेकोले अन्तिममा सहमति जुटनेमा विश्वस्थ छन् ।‘जसरी मैले मुख्यमन्त्रीका लागि पहलकदमी अघि बढाएको छु, उहाँहरू दुवैले अघि बढाउनु स्वभाविक हो, तर अन्तिममा उहाँहरू दुवैले मलाई समर्थन गर्नुहुन्छ,’ राई भन्छन् ।
चुनाव भएको अवस्थामा आफूले सहज बहुमत प्राप्त गरी संसदीय दलको नेता बन्नेमा राई निकै ढुक्क देखिन्छन् । घिमिरे पनि पार्टीमा आफूले लामोसमय काम गरेको कारण सबैको साथ पाउने बताइरहेका छन् । प्रदेश–१ मा मुख्यमन्त्रीका दाबेदार तीन नेताले आफू जित्ने हिसाबसमेत राखेका छन् । ‘चुनाव हुँदा जित्नेमा समस्या छैन, सहजै जित्छु,’ राई, घिमिरे र आचार्यको एउटै भनाइ छ । प्रदेश–३ मा पनि एमालेभित्र मुख्यमन्त्रीको दाबेदार निकै बढी छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नै दाबी गरेपछि एमाले वृत्तमा स्थायी कमिटीबाटै हस्तक्षेपकारी निर्णय हुने अपेक्षा धेरैले गरेका थिए ।
तर, बहुमत सांसदले दबाब दिएपछि शीर्ष नेतालेसमेत आन्तरिक लोकतन्त्र भन्दै प्रदेशलाई जिम्मा दिने अवस्था सिर्जना भयो । संघकै राजधानी काठमाडौं उपत्यकासमेत रहेको प्रदेश–३ मा स्थायी कमिटीले नै निर्णय गर्नुपर्ने मत उपाध्यक्ष शाक्यले स्थायी कमिटीमा राखिन् । अन्य आकांक्षी सो कमिटीमा नभएपछि दबाब बढ्यो, जसको कारण प्रदेशलाई छान्ने विकल्प दियो । प्रदेश–३ मा पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे मुख्यमन्त्रीका लागि निकै जोडबलका साथ लागेका छन् । उनलाई उम्मेदवार हुनै प्रदेशले रोकेको अवस्थामा शीर्ष नेताले प्रदेशमा उम्मेदवार बनाएका थिए ।
यही कारण सबै नेता र सांसदको विश्वास आफूलाई रहेको पाण्डेको बुझाइ छ । उपाध्यक्ष शाक्यले नै सबैभन्दा पहिला मुख्यमन्त्री बन्न आफूलाई सुझाव दिएको भन्दै पाण्डे अहिले आफैँ अघि बढ्न नहुने बताउँदै आएका छन् । यस्तै पशुपति चौलागार्इं, सानु श्रेष्ठ, कैलाश ढुंगेल, डोरमणि पौडेल र केशव स्थापित लगायतका नेता पनि मुख्यमन्त्रीका लागि दाबेदार हुन् । उनीहरू शाक्य र पाण्डेको लडार्इंमा आफूहरू सो पद प्राप्त गर्ने योजनामा छन् । सबै आकांक्षीले प्रदेशको समृद्धिको खाकासहित अध्यक्षदेखि सबै नेतालाई भेटेर लबिङ गरिरहेका छन् । ‘मलाई विश्वास गर्नोस्, सबैभन्दा समृद्ध प्रदेशको रूपमा स्थापित गर्नेछु, मेरो स्पष्ट भिजन छ’ भन्दै शीर्ष नेताकहाँ उनीहरूले लबिङ गरिरहेको छन् ।
उनीहरू सबै चुनाव हुँदा शीर्ष नेताको संकेत पाउने अपेक्षामा छन् । यसैगरी प्रदेश–४ मा पनि दुई नेता दाबेदार छन् । संगठन विभागसमेत रहेका सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ आफूले मुख्यमन्त्री पाउनुपर्ने भन्दै अघि बढिरहेका छन् । दुवै नेता चुनाव हुँदा आफूले सहज ढंगले जित्ने बताइरहेका छन् । दुवै नेता चुनाव हुँदा दुईतिहाइको हाराहारी मतबाट जित्ने बताइरहेका छन् । चुनावबाटै छान्ने अवस्था भएपछि प्रदेश–४ मा युवा नेताहरूसमेत आफ्नो फाइदा हेर्दै दुवैलाई मेरो साथ रहेको भन्न थालेका छन् ।
प्रदेशमा जसले मन्त्री बनाउँछ, उसैलाई साथ भन्दै उनीहरू हिँडन थालेका हुन् । सो प्रदेशमा उम्मेदवारीको विषयलाई लिएर दुई नेताविरुद्ध अभियानसमेत चलाउन थालिएको छ । माघ मसान्तभित्र मुख्यमन्त्रीका लागि दलको नेता छान्नै पर्ने अवस्था आएपछि तीन ओटै प्रदेशका मुख्यमन्त्रीका आकांक्षी सांसद आफूतिर तान्न केन्द्रित भएका छन् । शीर्ष नेतालाई पनि आफ्नो पक्षमा मुख खोलिदिन दबाब बढाएका छन् । हिसाब नै देखाए उनीहरू आफैँ जित्ने भन्दै आफूलाई सहयोग गर्न आकांक्षीले दबाब दिए पनि शीर्ष नेताले मुख नखोलेका हुन् ।
स्रोतका अनुसार आकांक्षीले दिएको गणितमा अध्यक्ष ओलीदेखि सबै शीर्ष नेता सहमत छैनन । ‘जित्छु भन्दैमा हुँदैन, आकांक्षीले बनाएको गणित र हामीले बनाएको गणित फरक–फरक छ, जित्छु भन्नेले हार्ने र हार्छ भन्नेले जित्ने अवस्था छ, हिजोको नवौँ महाधिवेशनको विचार समूह हेर्ने अवस्था छैन,’ एमालेका एक नेता भन्छन् । ती नेताका अनुसार कतिपय आकांक्षीका व्यवहार र कार्यशैलीका कारण सांसदहरू विचार समूह हेर्ने वा नवौँ महाधिवेशन जसरी अघि बढने पक्षमा छैनन् ।
‘जसले भोट आउँछ भनेर हामीलाई लिस्ट देखाएका छन्, तिनै सांसदले त्यो व्यक्ति हुनै सक्दैन, हुनुहुन्न भनिरहेको अवस्था छ, त्यसैले उहाँहरूले कागजमा जुटाएको चुनाव जित्ने मत विश्वसनीय छैन,’ एक नेताले भने । माओवादीले भने सर्वसम्मतिको अभ्यास प्रदेशबाट सुरु गरेको छ । प्रदेश–७ मा चिलोचन भट्टलाई सर्वसम्मत सिफारिस गरी माओवादीले चुनाव नहुने सन्देश दिएको हो । प्रदेश–६ मा पनि माओवादीले सर्वसम्मत सिफारिस गर्ने योजना बनाएको छ । सो प्रदेशमा महेन्द्र शाही नै मुख्यमन्त्रीमा सिफारिस गर्न केन्द्रबाटै निर्देशन गएको स्रोतको भनाइ छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2E3SvkE via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

