भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट बुधवार मन्त्री बनेका १० जनाले सपथग्रहण गरिसकेका छन् । एकजना मोहन बस्नेतबाहेक अरु सबै ९ जनाका लागि मन्त्री पद नयाँ र पहिलो अनुभव हो ।
प्रदेश नम्बर ३ अन्तरगत काठमाडौं जिल्लाबाट मात्रै ३ जना मन्त्री भएका छन् । राजेन्द्रकुमार ९राजन० केसी, रामचन्द्र पौडेल समूहबाट मन्त्री भएका छन् । भीमसेन दास प्रधान कृष्णप्रसाद सिटौला समूहबाट र अम्बिका बस्नेत देउवा समूहबाट मन्त्री बनेका छन् ।कांग्रेसले प्रदेश नम्बर १ बाट मीन विश्वकर्मालाई मन्त्री बनाएको छ । यो प्रदेशबाट यसअघि नै ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भइसकेका छन् । त्यस्तै प्रदेश नम्बर २ बाट रामकृष्ण यादव र महेन्द्र यादव मन्त्री बनेका छन् । यो प्रदेशबाट फर्मुल्लाह मन्सुर यसअघि नै भइसकेका छन् ।
प्रदेश ३ कै सिन्धुपाल्चोकका मोहन बस्नेत खुमबहादुर खड्काको कोटाबाट मन्त्री भएका छन् । प्रदेश नम्बर ४ बाट यज्ञवहादुर थापा यसपटक परेका छन् । यसअघि गोपालमान श्रेष्ठ प्रदेश नम्बर ४ बाटै उपप्रधानमन्त्री एवं शिक्षामन्त्री रहिसकेका छन् ।
प्रदेश नम्बर ५ बाट सञ्जय गौतम परेका छन् । प्रदेश नम्बर ६ बाट कांग्रेसले एकजना पनि मन्त्री बनाएन । प्रदेश नम्बर ७ बाट यसपटक बीरबहादुर बलायर परेका छन् ।
कांग्रेसबाट मन्त्री बनेकाहरु कसको पृष्ठभूमि के छ, अनलाइनखबरले सामान्य परिचय प्रस्तुत गरेको छ ।
भीमसेनदास प्रधानः रक्षामन्त्री
काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधान सक्रिय राजनीतिमा लाग्नु अघि प्राध्यापक थिए । उनी नेपाल प्राध्यापक संघका पूर्व सभापति हुन् ।
काठमाडौं कांग्रेसको जिल्ला सभापति भइसकेका प्रधान पूर्वमहामन्त्री प्रकाशमान सिंहको खेदाइमा परेका कांग्रेस नेता हुन् । पछिल्लो समय कृष्णप्रसाद सिटौला गुटमा पुगेका छन् । गगन थापाले यसअघिको क्याबिनेटमा सिटौलाको कोटाबाटै मन्त्री पाएका थिए । यसपटक त्यो कोटामा भीमसेन दास परे ।
रसायनशास्त्र अध्ययन गरेका प्रधानले अब रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विगतमा प्राध्यापनको अनुभव संगालेका उनका दुई छोरी छन् ।
पहिलोे संविधानसभा चुनावमा माओवादी नेता हितमान शाक्यसँग पराजित भएका प्रधान ०७० सालमा एमालेका युवा नेता योगेश भट्टराईलाई पराजित गरेर सांसद भएका हुन् ।
महेन्द्र यादवः खानेपानी तथा सरसफाइ मन्त्री
सपथ ग्रहणको केहीबेरअघि मात्रै अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम मन्त्रीको सूचीमा चढाइयो । ०५६ सालदेखि लगातार तीनवटा चुनाव जितेका जोशी पहिलोपटक मन्त्री बन्दै थिए, उनलाई शुभचिन्तक र जिल्लाबासीले बधाई समेत दिइसकेका थिए ।
तर, अन्तिममा नाम काटियो ।जोशीको नाम कटाएर एकाएक धनुषाका महेन्द्र यादवको नाम थपियो । २ नम्बर प्रदेशको स्थानीय चुनाव र विमलेन्द्र निधीको प्रतिष्ठाका कारण महेन्द्रको भाग्य चम्किएको चर्चा कांग्रेसवृत्तमा चलेको छ ।
महेन्द्र यादव समानुपातिक सांसद हुन् । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा उपाध्यक्ष रहेका यादव कांग्रेस विभाजनपछि प्रजातान्त्रिकमा लागे । उनले सोही बेला तरुण दलको अध्यक्षमा खुमबहादुर पक्षका शंकर भण्डारीलाई पराजित गरेका थिए । त्यसअघि उनी नेविसंघको उपाध्यक्ष पनि थिए । हाल यादव कांग्रेस केन्द्रीय सदस्य छन् ।
यज्ञबहादुर थापाः कानून मन्त्री
कास्की क्षेत्र नम्बर १ का सांसद यज्ञवहादुर थापाले यसपटक पोखरा लेखनाथ महानगरपालिकाको मेयरको उम्मेदवार बन्न खोजेका थिए । तर, अर्जुननरसिंह केसीले आफ्ना नातेदार रामजी कुँबर टिकट दिलाउन सबै शक्ति लगाएपछि थापा पछि हटे ।
अहिले उनी मन्त्री बन्न सफल भएका छन् । संयोग चाहिँ कस्तो पर्यो भने ०७० सालको संविधानसभा चुनावमा थापासँग डेढ सय मतको अन्तरमा पराजित भएका एमालेका मानबहादुर जिसी पोखराको मेयर बने । लेखनाथमा ०११ सालमा जन्मेका थापाले कानून मनत्रालयको जिम्मेवारी पाएका छन् । यो उनको पहिलो अनुभव हो । सांसदको प्रोफाइलमा मन्त्री थापाको शैक्षिक योग्यता र अन्य विवरण केही पनि उल्लेख छैन ।
०४९ सालको स्थानीय चुनावमा थापा कास्की जिल्ला विकास समितिको उपसभापति भएका थिए । त्यसबेला थापा आफ्नै सभापतिमाथि मुक्का बर्साएर चर्चामा आएका थिए ।
वीरबहादुर बलायरः भौतिक पूर्वाधार मन्त्री
०४६ सालको जनआन्दोलनताका वीरवहादुर बलायतर निकै चर्चित विद्यार्थी नेता थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका नेविसंघ नेता बलायरलाई नेविसंघ अध्यक्ष बन्नेबेला एनपी साउद र चन्द्र भण्डारीहरुले मिडियाबाजी गरेर विद्यार्थी राजनीति नै समाप्त पारेको समकालीनहरु बताउँछन् ।
विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तरघात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका थिए । अन्तरघात गरेर किसुनजीलाई हराएको भन्दै वीरवहादुर बलायर, रामहरी खतिवडा लगायतका युवाहरुले त्यसबेला बानेश्वरमा गिरिजाबाबुको तस्वीरमा कालोमोसो दलेका थिए ।
कोइराला पार्टी कार्यालय पुग्दा उनको गाडीमाथि चढेले । देउवानिकट बलायर त्यहाँ कांग्रेसको जिल्ला सभापति भए । ०६४ सालमा टिकट पाए पनि उनले चुनाव जित्न सकेनन् । ०७० मा डोटी १ बाट प्रत्यक्ष निर्वाचित भएका बलायर कांग्रेस केन्द्रीय सदस्य पनि हुन् ।
रमेश लेखक र एनपी साउदहरुको दबदबा रहेको देउवा क्याम्पमा सुदूरपश्चिमबाट यसपटक बलायरले मौका पाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै देउवा पत्नी आरजुको पनि विश्वासपात्र रहेकाले बलायरलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको हो । डोटीको लाटामाडौंमा ०२२ साल भदौ ४ गते जन्मेका बलायर गणितका विद्यार्थी हुन् ।
मोहनबहादुर बस्नेतः सूचना तथा सञ्चारमन्त्री
सिन्धुपाल्चोकका कांग्रेस नेता तथा सांसद मोहनबहादुर बस्नेत मार्सल आर्टका खेलाडीसमेत हुन् । उनको उमेर ६० पुगिसकेको छ, तर हेर्दा ६० होइन, ४५ पनि नकटेका जस्तै देखिन्छन् । उनी २०१५ साल भदौमा जन्मेका हुन् । मन्त्री पदको सपथ लिनुअघि अनलाइनखबरसँगको कुराकानीमा ठट्यौली पारामा बस्नेतले भने( ‘म युवा उमेरदेखि नै स्वस्थ्य जीवनका लागि खेलको विकास हुनुपर्छ भनेर लागेको थिएँ, आज मन्त्रालयको जिम्मेवारी पाएको छु ।’
बस्नेतले जस्तोसुकै समस्या र कार्यकर्ताको भिडभाडको बीचमा पनि बिहानको २ घण्टा समय आफ्नो शारीरिक व्यायामका लागि दिने गरेका छन् । १४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बस्नेत ०३४ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय भएर लागेका थिए । ०४६ देखि पार्टी राजनीतिकमा सक्रिय भएका बस्नेतले बहुदलपछिको पहिलो आम निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संसदको टिकट पाएका थिए ।
पहिलो निर्वाचनमा उनी एमाले उमेदवार अमृत बोहरासँग पराजीत भए । त्यसपछिको मध्यावधि निर्वाचनमा भने पार्टीले उनलाई टिकट नदिएर रोहिणीराज सिग्देललाई टिकट दिएपछि उनी बिस्तारै कोइराला परिवारसँग टाढिए । ०५६ को चुनावमा बस्नेत क्षेत्र नम्बर १ बाट एमाले उमेदवार अमृत बोहरालाई हराउँदै सांसद भए ।
त्यतिबेला बस्नेत स्वास्थ्य राज्यमन्त्री समेत भएका थिए । कोइराला परिवारसँग रुष्ट हुँदै टाढिएका बस्नेत बिस्तारै देउवा क्याममा छिरे । प्रधानमन्त्री देउवाकी पत्नी आरजू राणा र बस्नेत पत्नी माण्डवी राणा दिदीबहिनी समेत हुन् । यही नाताका कारणले गर्दा पनि देउवा र बस्नेत निकै घनिष्ट छन् ।
पहिलो संविधानसभा निर्वाचनमा बस्नेत क्षेत्र नम्बर १ मा पराजित भएका थिए । उनले त्यतिबेला कुल ७ हजार मतमात्रै पाएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा उनी एमाले उँमेदवार अरुण नेपाललाई ३२ मतले हराउँदै संविधान सभामा जान सफल भए ।
देउवा समूहमा रहेका बस्नेत बिस्तारै खुमबहादुर खड्काको निकट बने । एमालेले युथ फोर्स, माओवादीले वाइसीएल गठन गरेपछि बस्नेतकै अगुवाइमा तरुण दस्ता गठन गर्नुपर्छ भनेर पार्टीभित्र उनले चर्को दबाव दिएका थिए । केही वर्षअघि बाह्रबिसेमा तत्कालीन कांग्रेस नेता शेरबहादुर देउवालाई लगेर बस्नेतले तरुण दस्ताको सुरुवात गरेका थिए ।
बस्नेत निडर र हक्की स्वभावका छन् । केही महिनाअघि मात्रै अर्थ मन्त्रालयमा पुगेर बस्नेतले कर्मचारीहरुको सातो लिएको चर्चा छ ।
मीनबहादुर विश्वकर्माः वाणिज्य मन्त्री
मीनबहादुर विश्वकर्मा कुनैबेला कम्युनिस्ट थिए । विद्यार्थीकालमा उनी सुनसरीमा अखिलका नेताका रुपमा चिनिन्थे । उनी लामो समय नेपालको दलित आन्दोलनमा संलग्न रहे । अन्तरजातीय बिहे गरेका मन्त्री विश्वकर्माले केही समय दलित अधिकारका सन्दर्भमा टेलिभिजन बहस पनि चलाए । जनआन्दोलनपछि कांग्रेसको नेतृत्व तहमा सक्रिय रहेका विश्वकर्माले छोटो समयमै छलाङ हाने ।
कांग्रेस केन्द्रीय सदस्य विश्वकर्मा पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाको किचन क्याबिनेट सदस्यका रुपमा स्थापित भएका छन् । उनी कांग्रेसभित्र वौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । विसं ०२४ साल चैतमा भोजपुरको टक्सारमा जन्मेमा मन्त्री विश्वकर्माले एमएरबीएल उत्तीर्ण गरेका छन् ।
उनी नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद हुन् । पौडेल बाहुनकी छोरीसँग विवाह बन्धनमा बाँधिएका मन्त्री विश्वकर्माका एक छोरा र एक छोरी छन् । धरानको एभरेष्ट लाइनमा घर रहेका उनी काठमाडौंको सिनामंगलमा बस्दै आएका छन् ।
विशेषगरी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रकरणको नेतृत्व गरेपछि मीन झनै चर्चामा आए । देउवाका वैचारिक प्रवक्ता समेत रहेका मीन पत्रकारमैत्री कांग्रेस नेता पनि हुन् ।
रामकृष्ण यादवः कृषि मन्त्री
धनुषा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद रामकृष्ण यादव कुनैबेला रामवरण यादव पारिवारिक सहयोगी थिए । रामवरण यादवको छत्रछायाँमा रहेका यादवले धनुषामा निधी परिवारको विपक्षमा आफूलाई उभ्याएर राजनीति अघि बढाएका थिए ।
धनुषाबाट ०६४ र ०७० साल दुवै चुनावमा निर्वाचित यादव कांग्रेसका जिल्ला सभापति समेत रहिसकेका छन् । उनी पहिलो व्यवस्थापिका संसदमा सार्वजनिक लेखा समितिको सभापति थिए । यसपटक उनलाई विमलेन्द्र निधीको काउन्टर दिन रामचन्द्र पौडेल पक्षले मन्त्री बनाएको बताइन्छ ।
धनुषाको राजनीतिमा विमलेन्द्र निधि र आनन्द ढुंगाना पक्षबीच टस्सल छ । विगतमा रामवरण यादव पक्ष र निधि पक्षको लडाई थियो । अहिले यादव पक्षको विरासत आनन्द ढुंगाना र रामकृष्ण यादवहरुले धानिरहेका छन् । यो समूहमा रामवरण पुत्र डा।चन्द्रमोहन यादव पनि छन् ।
मन्त्री यादवको जन्म ०१९ साल जेठमा धनुषाको औरहीमा भएको हो । २०२९ सालदेखि राजनीतिमा सकृय मन्त्री यादवका एक छोरा र तीन छोरी छन् ।
अम्बिका बस्नेतः सहकारी तथा गरिबी निवारण मन्त्री
विसं। २००७ सालमा काठमाडौंमा जन्मेकी अम्बिका बस्नेतले लामो प्रतिक्षापछि मन्त्री बन्ने अवसर पाएकी छिन् । ०२९ सालदेखि राजनीतिमा लागेकी बस्नेत ०४२ सालको सत्याग्रहमा सक्रिय थिइन् ।
स्नातकसम्म अध्ययन गरेकी समानुपातिक सांसद बस्नेत कोइराला परिवारकी सदस्य हुन् । तर, पछिल्लो समय देउवा शक्तिमा आउन थालेपछि अम्बिका देउवा गुटमा सामेल भएकी थिइन् । कोइराला परिवारमा हुँदा अवसर नपाएकी उनले देउवा क्याम्पमा आएपछि अवसर पाइन् ।
बस्नेत ०५६ सालको संसदीय चुनावमा हालकी राष्ट्रपति तत्कालिन एमाले नेतृ विद्यादेवी भण्डारीसँग काठमाडौंमा पराजित भएकी थिइन् । तेह्रथुमकी सीता गुरुङको नाम चर्चामा आइरहेका बेला अम्बिकाको नाम सदर गरिएको हो ।
राजेन्द्र कुमार केसीः खेलकुद मन्त्री
माओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौं क्षेत्र नम्बर १० मा पराजित गरेर राष्ट्रिय चर्चामा आएका सांसद राजेन्द्र केसी पछिल्लो समय गुमनाम थिए । कांग्रेसको जिल्लास्तरका नेता भए पनि प्रचण्डलाई चुनाव हराएकै कारण उनी चर्चामा थिए । यसपटक उनले त्यसको प्रतिफल पाए ।
विशेषतः कांग्रेस नेता प्रकाशमान सिंहको अडानका कारण राजेन्द्र केसी मन्त्री बन्न सफल भएको बताइन्छ । कृष्णप्रसाद सिटौलाको गुटबाट काठमाडौं ६ का सांसद भीमसेनदास प्रधान समेत मन्त्री बन्ने भएपछि प्रकाशमानका लागि राजेन्द्र केसीलाई मन्त्री बनाउनुपर्ने बाध्यता थियो ।
प्रकाशनमान समूहका नवीन्द्रराज जोशी यसअघि नै मन्त्री भइसकेका कारण पनि राजेन्द्रको पालो आएको हो । रामचन्द्र पौडेल गुटबाट बलबहादुर केसीको नाम अन्तिममा काटिएपछि राजेन्द्र केसीको चान्स आएको स्रोतले जनाएको छ ।
विसंं ०१५ सालमा कीर्तिपुरमा जन्मेका केसीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनका एक छोरा र २ छोरी छन् । उनी ०४० सालदेखि राजनीतिमा लागेका हुन् ।
सञ्जय गौतमः सिँचाइमन्त्री
बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद सञ्जय गौतमलाई मन्त्री पद अचानक फलिफाप भयो । रामचन्द्र पौडेल खेमाबाट उनको नाम अन्तिममा मात्रै आएको हो । यसअघि चर्चामा रहेका बलवहादुर केसी, बद्री पाण्डे, जीवन परियार र धनराज गुरुङलाई पन्छाउँदै सञ्जय मन्त्री बन्न सफल भए ।
बर्दियामा कांग्रेस जिल्ला सभापतिका रुपमा लामो समय काम गरेका गौतम ०७० सालमा मात्रै चुनाव जित्न सफल भए । पहिलो कार्यकालमै उनी मन्त्री बन्न समेत सफल भएका छन् । साभार – अनलाइन खबर
The post कांग्रेसका १० मन्त्रीः प्रचण्डलाई हराउनेदेखि गिरिजालाई गलाउनेसम्म appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uDthpj via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

