काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा तालमेलमा महानगर, उपमहानगर र नगरपालिकाहरुमा सम्मानजनक भागवण्डा हुनुपर्ने प्रस्ताव राखेका छन् । उनले आज गठबन्धनको बैठकमा सम्मानजनक स्थानहरु पाउनुपर्ने प्रस्ताव राख्दै विकल्पमा नेकपा एमालेसँग मिल्न सक्ने विषय पनि राखेका छन् ।
प्रचण्डले गठबन्धनका दलले २०७४ सालमा जितेका स्थानीय निकायमा सोही दललाई नै टिकट दिने र गठबन्धनबाहेकले जितेको स्थानमा भागवण्डाको प्रस्ताव राखेका छन् । महानगर र उपमहानगरहरुमा नेपाली काँग्रेसले बढी सिट दाबी गरेको छ । महानगरमा यसअघि काँग्रेसले २, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले १ र जनता समाजवादी पार्टीले १ सिट जितेका थिए । काँग्रेसले आफूले जितेकोसहित थप २ महानगरपालिकामा दाबी गरेको बुझिएको छ ।
प्रचण्डले आफ्नो दलको नेताहरु एमाले नेताहरुसँग गठबन्धनबारे छलफलमा लागेको खुलाएका थिए । उनले आफू निकै दबाबमा रहेकाले भविष्यमा एमालेसँग मिल्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने समेत बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुनः तालमेलमा जाने अवस्था आउन सक्नेबारे उनले खुलाएका थिए । आफू पार्टीभित्र दबाबमा परेको भनेका प्रचण्डले अन्य दबाबतर्फ पनि संकेत गरेका छन् ।
प्रचण्डले बैठकमा माओवादीले खेलेको भूमिका र अप्ठ्याराहरु पार लगाउन जोखिम मोलेको विषय उठाएका थिए । तर, माओवादीलाई स्वीकार्न गाह्रो मान्ने अवस्थाबारे आफू गम्भीर भएको भन्दै काँग्रेसले पेल्न खोजे विकल्पमा जानुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।
यसैगरी, गठबन्धनका दलबीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे छलफल भएको छ । भारत भ्रमणका दौरान संवेदनशील विषयमा सम्झौता नगर्न माओवादी र नेकपा एसका नेताहरुले सुझाएका थिए । यसले चुनावमा असर गर्न सक्ने उनीहरुको भनाई थियो ।
गठबन्धनका दलबीच अर्थ र गृह प्रशासनका विषयमा प्रश्नहरु उठेका थिए । काँग्रेस नेता रामचन्द्र पौडेल र गगन थापाले अर्थ मन्त्रीको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका थिए । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गृहमन्त्रीको कामकारबाहीमा प्रश्न उठाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38iJCaO via IFTTT
काठमाडौं । प्रतिनिधिसभा र प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम कायम रहेकाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएको छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले बनाएको १८ बुँदे मापदण्डमा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकको बन्दसूचीमा रहेकाले स्थानीय तहमा उम्मेदवारी दिन नपाउने उल्लेख गरिएको छ ।
बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार २१ वर्ष उमेर पूरा भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको जस्ता १८ वटा मापदण्डभित्र पर्ने व्यक्तिले उम्मेदवारी दिन सकिने व्यवस्था गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36KRSjf via IFTTT
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विविध समस्याको समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलका तर्फबाट डा. महतले ककनी हुँदै नुवाकोट जाने बाटो ठेक्का लगाएको १० वर्षसम्म निर्माण पूरा नभई अलपत्र परेकाले जनजीवन कष्टकर भएको विषय राखेका थिए ।
उनले उक्त बाटोको निर्माण तत्काल पूरा गर्न प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन गर्न आवश्यक भएको बताएका थिए ।
ज्ञापनपत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयवासीको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका डा. महत ककनीमा नेपाली कांग्रेसले आयोजना गरेको गाउँगाउँ जाऔँ, नेपाली कांग्रेस जिताऔँ अभियानअन्तर्गतको प्रशिक्षणमा सहभागी भएर फर्कंदा स्थानीयवासीले फोहरमैला व्यवस्थापनको समस्या प्रधानमन्त्रीसमक्ष पु¥याइदिन अनुरोध गरेका थिए ।
यस्तै ज्ञापनपत्रमा नुवाकोटका विभन्न दुर्गम गाउँपालिकाहरुमा गुठी जग्गा दर्ता नभएर उत्पन्न भएको समस्या समाधन गर्न पनि माग गरिएको छ ।
नुवाकोटको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु तत्काल पूरा गर्न सम्बन्धित निकायका प्रमुखहरुलाई बोलाएर तुरुन्त कार्यान्वयनका लागि निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री देउवासँगको भेटका अवसरमा प्रवक्ता डा. महतका अतिरिक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेसका जिल्ला सभापति रमेश महत, सरोकार समितिका अध्यक्ष आदित्य श्रेष्ठ, जिल्ला भूमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन न्यौपानेलगायत नगरसमितिका अध्यक्षहरुले पनि समस्याका बारेमा प्रकाश पारेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3NzpjG0 via IFTTT
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने भएको छ । आज केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो ।
काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि काँग्रेसभित्र डा. शेखर कोइराला पक्षधरले तालमेलको विरोध गर्दै आएको थियो । तर, सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरु तालमेलको पक्षमा उभिएपछि उक्त निर्णय भएको हो ।
आजको निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ ।
काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनी काँग्रेसको चुनावी कमाण्डर भएका छन् । डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tOgkJe via IFTTT
काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा साना दलहरुलाई आफ्नै चुनाव चिह्न दिने भएको छ। आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको आयोगको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था भएपनि साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गर्दै आएका थिए ।
साना दलहरुको मागलाई सम्बोधन गर्दै आयोगले ती दललाई जिल्लाको संगठन संरचना भएमा जिल्लागत विवरण समेत माग गरेको थियो । स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j0QbB3 via IFTTT
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमापुगेर खाणले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि गृहमन्त्री खाँणको सक्रियता बढेको छ।
पछिल्लो समय नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे छलफल चलाएको छ।
प्रचण्ड त सुरुदेखि नै तालमेलको पक्षमा उभिएका छन् ।
उनले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताउँदै आएका छन्।
खाँण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36MYspc via IFTTT
काठमाडाैं। नेपाली कांग्रेसभित्र आगामी स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने वा एक्लै लड्ने भन्ने बहस जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनसहित चुनाव लड्ने मनस्थितिमा छन् भने संस्थापन इतर समूहका नेता शेखर कोइराला एक्लै चुनाव लड्नुपर्ने अडानमा छन् ।
सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका पार्टीका अर्का नेता रामचन्द्र पौडेलले पनि चुनावसम्मै गठबन्धन कायमै रहने बताउँदै आएका छन् । सभापति देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने डरले कांग्रेस गठबन्धनसहित चुनावमा जाने अभिव्यक्ति दिएको राजनीतिक वृत्तमा चर्चा भएको छ ।
विशेष गरी माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दा कांग्रेसलाई देशैभर क्षति हुने त्रास कांग्रेसमा देखिएको छ । सोही चुनावी अंकगणितको लेखाजोखा गरेर देउवाले चुनावी गठबन्धन आवश्यक ठानेका उनी निकट नेता बताउँछन् ।
नेता कोइरालाले भने कांग्रेस आफैंमा शक्तिशाली पार्टी भएकाले अन्य दलहरूको साथ आवश्यक ठानेका छैनन् । कोइरालाले चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई एमाले अध्यक्ष केपी ओलीसँग मिल्न दिने भए दिउँ भनेर देउवासँग प्रस्ताव पनि गरेका छन् ।
केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जितले केन्द्रदेखि स्थानीय तहसम्म चुनावी तालमेल आवश्यक रहेको बताए । कांग्रेस पहिलो पार्टी बनेर देश हाँक्न पनि चुनावी गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । यद्यपि पार्टीको चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिको रिपोर्टको आधारमा निर्णय लिनु राम्रो हुने उनले न्युज कारखानासँग बताए । तर अहिलेको राजनीतिक माहोल हेर्दा गठबन्धनसहित चुनावमा जाँदा राम्रो हुने उनको भनाइ छ ।
‘प्रजातान्त्रिक पार्टीमा विचारहरू राख्न पाइन्छ ।
पार्टीकै एउटा समूहले एक्लै चुनाव लड्ने भन्दै आएको छ । सभापति देउवा, नेता पौडेल गठबन्धनसहित लड्ने भन्दै हुनुहुन्छ । पार्टीले औपचारिक निर्णय लिन बाँकी छ । तर मेरो व्यक्तिगत विचारमा गठबन्धनसहित चुनावमा लड्दा पार्टी र देशलाई फाइदा हुन्छ जस्तो लाग्छ,’ नेता रञ्जितले भने ।
अर्का केन्द्रीय सदस्य ध्रुव वाग्लेले पनि कांग्रेस अन्य कुनै दलसँग मिलेर जाँदा राम्रो हुने बताए । जारी पार्टीको केन्द्रीय समिति बैठकमा पनि यही विषयमा छलफल भएकाले छलफलको आधारमा औपचारिक निर्णय लिने बताए । गठबन्धनबारे पार्टीमा नेताहरूको व्यक्ति गत धारणा आएका छन्, तर पार्टीकै औपचारिक निर्णय बैठकपछि आउने उनको भनाइ छ ।
अर्की केन्द्रीय सदस्य सुजाता कोइराला पनि चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने पक्षमा छिन् । कुन दलसँग कसरी गठबन्धन गर्दा फाइदा हुन्छ त्यो पार्टीमा छलफल गरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ छ । यसअघिको चुनावमा भएका कमजोरीलाई पनि सच्याउन उनले नेतृत्वलाई आग्रह गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uAXqF5 via IFTTT