लमजुङ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताएका छन् । आज लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल सङ्गठन सुदृढीकरण तथा जागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा बनेको पाँच दलीय गठबन्धन सरकार टिकाउनुपर्ने बताएका हुन्।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भइसकेको र माधव नेपालसहित पाँच दलीय गठबन्धनको संसद्मा सरकार बनाउन बहुमत पुग्ने भएकाले अब केही दिनभित्रै सरकारले पूर्णता पाउने उनको भनाइ थियो । उनले फरक प्रसङ्गमा देशको हितमा एमसीसी रहेकाले लागू गर्नुपर्नेमा जोड दिए । विदेशी सहयोग लिएर मात्र देश बलियो बनाउन सक्ने चर्चा गर्दै उहाँले अहिले एमसीसी लागू गरेर देश विकास गर्दै बलियो बनाउनुपर्ने बताए ।
“हामी अहिले बलियो नहुँदा र गरिब देश हुँदा सबैलाई चिढ्याउने काम गर्नुहुँदैन, हात्तीसँग कुस्ती खेल्नु हुँदैन, बुद्धिले काम गर्नुपर्छ”, उनले भने, “अहिले विदेशीको सहयोग लिएर देश बलियो बनाउन सके लिपुलेकदेखि अमेरिकासँग पनि विभिन्न कुरा गर्न सकिन्छ ।”
लामो समयसम्म प्रमुख राजनीतिक दलले देश चलाए पनि विकास दिन नसकेकाले अब जसपा नै वैकल्पिक शक्ति रहेको उनले बताए । सङ्घीयता लागू भए पनि अझै पूर्णरूपमा सङ्घीयताको महसुस नभएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री भट्टराईले देशमा अझै गरिबी, दलित जनजाति, महिला पीडित नै रहेकाले यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zUC9H9 via IFTTT
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।
एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ रहेको ती नेताको भनाई छ ।
यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने पनि मन्त्री बन्दैछन् । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो लाग्न बाँकी रहेको ती नेताले बताए ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी गरेको छ । खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZEaain via IFTTT
काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ ।
सोमबार बसेको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको हो ।
१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।
धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए । एकाध ठाउँमा देखिएको समस्याबारे पनि सकारात्मक कुराकानी भइरहेको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mlLJOz via IFTTT
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा काँग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
वडा कमिटी सदस्यहरु क्या.सोमबहादुर गुरुङ, बिगत १७ बर्षदेखि गाउँकमिटी सदस्य हुँदै हाल वडा कमिटी सदस्य बनेका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देब गुरुङले टीका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । एकै पटक काँग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी–१२ मा ठुलो धक्काको महसुस भएको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o9XRVj via IFTTT
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेको छ । आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गरेको हो । उनी अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी थिए । अध्यक्ष कुमार पन्तसँग झिनो मतले पराजित भएको थियो ।
संघको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । अध्यक्षका प्रत्यासी आचार्यले संघलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा मञ्च बनाउने उद्घोष गर्दै नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाए ।
संस्थाभित्र पद्धति र पारदर्शितालाई जोड दिने बताउँदै उनले भने, “संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थाको साख गिरेको अवस्था छ, अनियमितता र दुरुपयोगको गुनासो बढ्दै गएको छ, व्यवस्थित र पारदर्शिता कायम गर्नु मेरो मुख्य लक्ष्य रहेको छ ।” आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संघको पञ्जीकृत सदस्यको संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गरे ।
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आएको छ । उनी लण्डनका स्थापित व्यवसायी हुन् । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिएका आचार्यले बैंकिङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गरेको छ ।
करिब दुई दशकदेखि संघमा आबद्ध आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतमा राखेको बताए । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै आचार्यले मध्यपूर्व, मलेशियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने बताए।
महिला कामदारको सुरक्षा र सीप विकासमा ध्यान दिने उनको भनाइ थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने, स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न उनको प्रतिबद्धता छ । यस्तै पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने, कोभिड महामारीले रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्न पहल गर्ने, खाडी क्षेत्रमा रहेका नेपालीको सानो सानो पूँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई अगाडि बढाइने योजना रहेका छन् ।
आचार्य प्यानलबाट संघको महासचिवमा अमेरिका निवासी चिकित्सक डा.केशव पौडेलले उम्मेदवारी घोषणा गरेको छ । उनले संघलाई पारदर्शी र परियोजनामुखी बनाइने बताए । पत्रकार सम्मेलनमा संघका संस्थापक महासचिव भीम उदासलगायत संघका विभिन्न पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZDOPpr via IFTTT
काठमाडौं । मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।
मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएकाले स्थानीयबायु सक्रिय हुदाँ घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । भारी वर्षा हुने सम्भावना टरेको छ तर अझै मध्यभागमै न्युनचापीय रेखा रहेकाले सामान्य वर्षको सम्भावना कायमै रहेको प्रधानाङगले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेसँगै मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै सात दिन बाँकी रहेको महाशाखाले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CMmknD via IFTTT
दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी अध्यक्ष प्रचण्ड अहिले पार्टीभित्रका गुट तथा उपगुटहरुबाट आजित भएको बताएका छन् । शनिबार पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चेतावनी दिँदै भने, ‘अब पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् ।’
नेता महराले आफूलाई पनि धेरैले गुट निर्माण गर्न नसकेको भन्ने गरेको बताए । आफू गुट र उपगुटको म सँधै विरोधी रहेको बताउँदै नेता महराले पार्टी निर्माणमा लाग्न चाहेको बताए । पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरु रहेको उनको भनाई थियो ।
उनले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिहरूका विषयमा गम्भीर ढंगले कुरा उठाइरहेका र साँच्चै समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी रहेको दाबी गरे । समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाई थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iajm4y via IFTTT