काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १००औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरू सामना गर्न सरकार सक्षम रहेको बताए ।
उनले सरकार सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार रहेको र आवश्यक पहल गरिरहेको समेत बताए । प्रधानमन्त्री दाहालले सरकारले आवश्यक सबै उपायको अवलम्बन गरेर अपराधलाई निरुत्साह गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले अपराधीहरूले प्रविधिको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप गरिरहेको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्व अतुलनीय रहेको उल्लेख गरे ।
“यस डिजिटल युगमा जहाँ अपराधीले प्रविधिको दुरुपयोग गरी आफ्ना नराम्रा क्रियाकलाप सञ्चालन गर्छन्, त्यहाँ अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्त्वलाई थप सबल बनाउनुपर्छ,”– प्रधानमन्त्री प्रचण्डले भने ।
विश्वव्यापी परिदृश्य र सम्बन्धित मुद्दामा चिन्तन गर्न आवश्यक रहेको उनले बताए । अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर खतरा र आतङ्कवादको वृद्धिसँगै विश्वले अभूतपूर्व चुनौतीको सामना गरिरहेको उनको भनाई छ ।
प्रधानमन्त्री दाहालले सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उपक्षेत्रीयस्तरहरूमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह पनि गरे ।
प्रधानमन्त्रीले उदीयमान खतरालाई प्रभावकारीरूपमा लड्न हामीले सूचना आदान–प्रदान, खुफिया आदान–प्रदान र क्षमता निर्माणलाई बढाउनुपर्नेमा जोड दिए ।
सरकारले अन्तर्राष्ट्रिय प्रहरी प्रयासलाई समर्थन गर्ने सर्वोपरि महत्त्वलाई मान्यता दिएको तथा यस प्रयासमा सक्रिय साझेदार भई हाम्रा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री दाहालले मानवअधिकारको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । “नेपाल सीमापार सुरक्षा र सहयोग प्रवर्द्धनमा सक्रिय भूमिका खेल्न तयार छ । हाम्रा अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर हामी विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतीलाई अझ राम्रोसँग सम्बोधन गर्नसक्छौँ भन्ने हाम्रो दृढ विश्वास रहेको छ”, उनले भने ।
नागरिकलाई भय र शोषणबाट मुक्त हुनसक्ने वातावरण सिर्जना गर्न मिलेर काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । “हामीले मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्छ र हाम्रा कानून प्रवर्तन प्रयास विधिको शासनको ढाँचामा सञ्चालन भएको सुनिश्चित गर्नुपर्दछ । न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्त पालना गर्नु कानून प्रवर्तन गर्ने एजेन्सी र उनीहरूले सेवा गर्ने समुदायबीच विश्वास निर्माण गर्न आवश्यक छ,”– प्रधानमन्त्री प्रचण्डले भने ।
The post नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री दाहाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3ErJySW via IFTTT
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । गत साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापा सर्वोच्च अदालतको परमादेशले पदमुक्त भएका हुन् ।
साउन १७ मा मुख्यमन्त्री बनेका थापा गत भदौ ४ गेत प्रदेश सभाबाट विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरिरहेका ईस्राइल मन्सुरीकोसमेत मत लिएपछि विवादमा आएका थिए । उनले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहरगर्दै सर्वोच्च अदालतमा पूर्व मुख्यमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दर्ता गरेका थिए ।
कार्कीले दायर गरेको उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकारले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेको हो । साथै सर्वोच्चको उक्त फैसलाले थापा स्वतः पदमुक्त भएका छन् । अदालतले ४८ घण्टाभित्रमा रिट निवेदक हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी गरेको छ ।
पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका कोशीका मुख्यमन्त्री उद्धव थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका छन्।
प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिलाई जबरजस्ती आफ्नो पक्षमा मतदान गराउने सत्ता गठबन्धनको प्रयासलाई अदालतले फेरि असंवैधानिक ठहर गरेको हो। अब आईतबार साँझसम्म कोशीको नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनेछन् ।
कोशीमा यतिबेला राजनीति निक्कै गिजोलिएको छ । कोशीले गत असार १५ देखि भदौ २१ सम्ममा २ वटा सरकार पाइसकेको छ । ९३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक ४७ सांसदको संख्या कुनैपनि राजनीतिक दलसँग छैन् । गत वर्षको मंसिरमा सम्पन्न आम निर्वाचनपछि २०७९ को पुस २४ गते कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका थिए । उनी नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री बनेका थिए । तत्कालीन सत्तासाझेदार दलहरुबीच भएको सहमतिअनुसार साढे २ वर्षसम्म कार्की मुख्यमन्त्री बन्ने र त्यसपछि माओवादी केन्द्रका नेता ईन्द्र आङबो मुख्यमन्त्री बन्ने सहमति थियो ।
पुस १० मा बनेको सत्ता समिकरण फागुन २५ को राष्ट्रपति निर्वाचनसम्ममा भत्किएपछि हिक्मत नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको आंकलन हुने गरेको थियो । प्रदेश स्थापनाको ६ वर्षसम्म पनि नामकाकरण गर्न नसकेको आरोप खेपिरहेका दलहरुले गत फागुन १७ गते तत्कालीन प्रदेश नम्बर एकको नाम कोशी प्रदेश राखेका थिए । प्रदेश सभाको दुई तिहाइभन्दा धेरै मतले पारित नामप्रति पहिचानवादीहरु उग्र बने । र त्यहि दिनबाट कार्की नेतृत्वको सरकारको दिनगन्ती सुरु भयो । तत्कालीन सत्ता साझेदार दल जसपा नेपाल र माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कार्कीले प्रदेश सभा छलेर अध्यादेशबाट बजेट सार्वजनिक गरे । संवैधानिक संकट टार्न नसकेपछि असार १५ गते प्रदेश सभाको बैठकबाट विश्वासको मत लिएका कार्कीले १ सांसदको मत नपाउँदा सत्ता गुमाएका थिए ।
कार्की नेतृत्वको सरकार असार १५ गते ढलेपछि कोशीको राजनीति झनै गिजलिँदै गएको थियो । प्रदेश प्रमुख परशुराम खापुङले ५ दिनको समय दिएर असार २१ गतेसम्म सरकारमा दाबी विरोध गर्न आव्हान गरेका थिए,असार १७ गते । प्रदेश प्रमुखले दाबी पेस गर्न आव्हान गरेको बेलामा सत्तारुढ एमाले र राप्रपामा उपसभामुखसहित ४६ र विपक्षी कांग्रेस माओवादी गठबन्धनसँग सभामुखसहित ४७ सांसद रहेका थिए । जसरी पनि हिक्मत सरकार ढाल्न चाहेका कांग्रेस माओवादी नेतृत्वको गठबन्धनले राप्रपालाई साथमका लिने अथक प्रयास गरेपनि सफल नभएपछि तत्कालीन सभामुख बाबुराम गौतमकोसमेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भए । सर्वोच्चको आदेश र कोशीको गिजोलिएको राजनीतिको प्रमुख कारण असार २१ गतेको सभामुख गौतमको कदम प्रमुख रहेको देखिन्छ ।
असार १५- देखि आजसम्म कोशीको राजनीतिमा के को भयो ?
गत असार १५- गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएनन् । बहुमत गुमाएपछि सरकार कामचलाउमा सीमित भयो।असार १७ गते प्रदेश प्रमुखले ५ दिन समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आव्हान गरे ।
असार २१- मा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर गराई गठबन्धनको सरकारमा दाबी पेश भयो । त्यहि दिन तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की र राप्रपाका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर सभामुखको हस्ताक्षरलाई मान्यता नदिन आग्रह । तर प्रदेश प्रमुखबाट उद्धव थापा मुख्यमन्त्रीमा सोहीदिन नियुक्त ।
असार २२- सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गर्नु असंवैधानिक भन्दै तत्कालीन मुख्यमन्त्री कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दायर ।
कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुुनवाई गर्दै असार २७ गते कोशी सरकालाई दीर्घकालीन असर पर्ने कार्य र निर्णय नगर्न अल्पकालिन अन्तरिम आदेश जारी ।
साउन ८- कोशी सरकारको मुद्दा पूर्ण इजलासमा पठाउने न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासको आदेश ।
साउन ११- मुख्यमन्त्रीमा थापाको नियुक्ति सर्वोच्चको पूर्ण इजलासद्धारा बदर । सात दिनभित्र प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने सांसदलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश ।
साउन १२- साउन १६ गते बेलुका ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङद्वारा पुनः दलहरूलाई आह्वान ।
साउन १६- मा सभामुख बाबुराम गौतमले राजीनामा दिई उनको समेत समर्थनमा गठबन्धनका ४७ सांसदद्वारा सरकार बनाउन दाबी पेस । उद्धव थापा फेरि मुख्यमन्त्रीमा नियुक्त ।
साउन १७- पद तथा गोपनियताको शपथ लिँदै सभामुखबाट राजिनामा दिएका गौतमसहितलाई समेटेर प्रदेश सरकार विस्तार ।गौतम आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त ।
साउन ३१- प्रदेश सभाका जेष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डल कृषि राज्यमन्त्री नियुक्त
भदौ १- प्रदेश सभाको बैठकमा विश्वासको मत लिन मुख्यमन्त्री थापाद्वारा प्रदेशसभा सचिवालयमा सूचना दर्ता र भदौ ३ गतेका लागि समय माग । उपसभामुख सिर्जना दनुवारद्वारा भदौ ४ गतेका लागि बैठकको मिति तय ।
भदौ ३- एमाले र राप्रपाका ज्येष्ठ तथा सभाध्यक्षमण्डलका आठ सांसद बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभामा दर्ता ।
भदौ ४- सभाध्यक्षमण्डल सदस्य सांसद इस्राइल मन्सुरीद्वारा बैठक सञ्चालन । आफूले पनि मतदान गरी थापाले विश्वासको मत प्राप्त गरेको घोषणा ।
भदौ ६- हिक्मत कार्कीद्वारा पुनः सर्वोच्चमा रिट दर्ता ।
भदौ ११- सर्वोच्च अदालतद्वारा कोसी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्व राख्ने निर्णय नगर्न आदेश । सरकार कामचलाउ हैसियतमा ।
भदौ २१- सर्वोच्चद्वारा थापाको पद फेरि मुक्त
यसरी गत असार १५ गतेदेखि गिजोलिएको कोशीको राजनीति अब कता जान्छ ? भन्ने प्रश्न उठिरहेको छ । दलहरु एकले अर्कालाई स्विकार नगर्ने रणनीतिमा लागेका कारण कोशी प्रदेश सभाले मध्यावधि निर्वाचन झेल्नुपर्ने अवस्थामा पुगेको छ ।
The post कोशीमा सत्तारोहणका लागि असार १५ देखि भदौ २१ सम्म भए अराजनीतिक गतिविधि appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3r3KMR5 via IFTTT
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरेका हुन् । बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।
बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइटका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ।
बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने जानकारी गराए ।
प्रधानमन्त्री प्रचण्डले भने ,“संघीय सरकार काठमाडौँ उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ। त्यसका लागि मन्त्रिपरिषदको बैठकबाट ठोस निर्णय गर्नुपर्दछ। आउँदो मन्त्रिपरिषद बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौँ।”
प्रधानमन्त्री प्रचण्डले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्रीले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू उपस्थित रहेका थिए ।
The post फोहोरमैला व्यवस्थापनका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3R5b00h via IFTTT
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुरावस्थामा पुगेका काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् । विभिन्न नौ निकायका प्रमुखहरुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज (सोमबार) बोलाएर उनले समयसीमा तोकेर काठमाडौँ उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिए ।
सडकसँग सम्बन्धित नौ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको उल्लेख गर्दै मन्त्री ज्वालाले भने,“तपाईहरू काममा गम्भीर नहुने नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्नुपर्ने, अब म आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।”
सडक विभागले सडक कालोपत्रे गर्ने, केही दिनमै त्यही सडकमा नेपाल विद्युत् प्राधिकरणले खन्ने, लगतै नेपाल टेलिकमले पुनः खन्ने, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्ने कार्यले सडकको बेहाल भएको बताउँदै उनले भने,“सडकको यो हरिबेजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।”
मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता थियो ।
बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल र सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरु अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए ।
बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकाभित्र विद्युत् प्राधिकरणले ५० किलोमिटर सडकमा तार ‘अन्डरग्राउण्डेट’ गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ । खानेपानी लिमिटेडले पनि पाइप बिछ्याएपछि सडक सुधार गरेको छैन । टेलिकमले पनि केही सडकमा टेलिफोनको तार विछ्याउने काम गरिरहेको छ ।
The post मन्त्री ज्वाला एक्शनमा, सडक तत्काल सुधार गर्न निर्देशन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PqeARt via IFTTT
काठमाडौं । हवाई उडान नहुँदा नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । अधिवक्ता गणेशबहादुर वलीले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।
रिटमा हवाइ उडानमा रोक लगाउँदा बालकको ज्यान गएको दाबी गर्दै निर्णयकर्तालाई कारबाही र नाबालकका परिवारलाई क्षतिपूर्तिको माग गरिएको छ । क्यानले गत साउनमा पहाडी र हिमाली क्षेत्रका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउँदा जहाज कुर्दाकुर्दै हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको थियो ।
इमरानलाई थप उपचारका लागि अस्पतालले सिफारिस गरेको थियो । जहाजको पर्खाइमा उनको ज्यान गएको थियो ।
The post क्यानका महानिर्देशक अधिकारीविरुद्ध अदालतमा रिट appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3L71NAK via IFTTT
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको रुपान्तरण विशेष अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले हैरानी व्यहोर्नु नपरोस् भनेर सेवा प्रवाहमा सुधार थालिएको बताए ।
“जनताले दैनिक भोग्दै आएका समस्या समाधान गर्न सरकारले कदम चालेको छ, राहदानी, सवारी चालक अनुमतिपत्र, विदेशमा दुःख पाउने परिस्थितिबाट नेपाली नागरिकलाई सहयोग गरिएको छ”, उनले भने । उनले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालन गरिएको बताए ।
“अहिले विदेशमा रहेका तीन लाख बढी श्रमिक यो योजनामा समावेश भएका छन्, यो छिट्टै २५ लाखको आसपास पुग्ने अवस्था छ”, उनले भने, “विदेशमा गएका मात्र होइन, अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न थालेका छौँ, यसले ५० लाख नेपाली कोषमा आबद्ध हुने ढोका खुलेको छ ।”
नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको सेटिङ भत्काउने, मिटरब्याजबाट पीडित किसानलाई मुक्त गर्ने अभियानको थालनी भएको छ । “वर्तमान गठबन्धन सरकारसँग एकाथरि मान्छे अत्तालिएका छन्, यो अभियानले फेरि माओवादी २०६४ सालमा फर्कने भयो, शक्तिशाली पार्टी हुने भयो भन्ने आशङ्का छ”, उनले भने, “माओवादीलाई देश र जनताको पक्षमा काम गर्न नदिन ठूलो षड्यन्त्र भइरहेको छ, देश र राज्यलाई शुद्धीकरण गर्ने, बेथिति र फोहरलाई सफा गर्ने अभियान रोकिँदैन ।”
उनले आफूले सरकारको नेतृत्व गरिन्जेलसम्म देश र जनताको पक्षमा काम गरिरहने दृढता व्यक्त गरे । “म जति दिन प्रधानमन्त्री रहन्छु राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु”, उनले भने ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कमीकमजोरी औँल्याउँदै जनताका बीचमा आएको उल्लेख गर्दै अब माओवादीले नै आफूलाई रुपान्तरण गर्नुपर्ने बताए । “अभियानका क्रममा मात्र होइन, अब माओवादी जनताभन्दा टाढा बसेर दिन बिताउने छैन, जनताको साथमा, घरघरमा पुग्नेछौँ”, उनले भने, “प्राप्त उपलब्धिका बारेमा जनतालाई प्रशिक्षित गर्दै सुझाव लिनेछौँ ।”
The post राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छुः प्रधानमन्त्री दाहाल appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3OYb13v via IFTTT
काठमाडौं । चारहजार तिनसय असि मिटरको उचाईमा रहेको रसुवाको गोसाईकुण्डमा लागेको धार्मिक मेला सम्पन्न भएको छ । धार्मिक तथा ऐतिहासिक स्थलकोरुपमा रहेको यो कुण्डमा जनै पुणर््िामाको दिन स्नान गरेर पुजाआजा गरे आँटेकोकाम पुराहुने धार्मिक मान्यता रहि आएको छ । यो समयमा गोसाईकुण्ड जाने भक्तालुजन तथा आन्तरिक पर्यटकहरुको ठुलो घुईचो लाग्ने गरेको छ ।
पछिल्लो समय धार्मिक स्थल र मेला लाई आधार बनाएर त्यस ठाउँमा सेवा भन्दापनि ब्यापारिक महोत्सव जस्ता कृयाकलाप भईरहेको छ ।
गोसाईकुण्ड क्षेत्रमा लाग्ने जनैपुर्णिमाको मेलामा समेत त्यस्ता कैयौं दृष्यहरु देखिएका थिए ।
माछापोखरी बाट धुन्चे सम्म जम्मा ११७ किलोमिटर सार्वजानिक यातायातको भाडा एक हजार सम्म लिँदा रहेछन् । धुन्चेमा सादा खानाको तिनसय सम्म लिईएको पाईयो । यो गोसाईकुण्ड धार्मिक मेला लाग्ने समयमा त भिडभाड हुने भएकोले केहि खराव नियतभएका ब्यवसायीहरुले बिभिन्न सामाग्रीमा अत्यधिक मुल्य लगाएर आम उपभोक्तालाई ठगिगरिरहेको पाईयो ।
यो मेलालाई नै लक्षित गरेर निकालिएको रेट लिष्ट समेत ब्यवहारीक देखिदैन । गोसाईकुण्ड पुग्दा कालो चियाको ८०,दुध चियाको १२०,सादा खाना ६००,त्रिपालमुनि सुतेको प्रति ब्यक्ति ६००, होटलको सिलिङमा सुतेको ६०० ,कोठामा सुतेको प्रतिव्यक्ति १००० ,तातोपानि ठुलो कपको ८० रुपैयाँ तोकिएको छ ।
बिच बाटोमा उकालो हिड्न नसक्नेहरुकोलागि घोडाको ब्यवस्था गरिएको भएपनि त्यसमा समेत बार्गेनिङ र भनेको ठाउँ सम्म नपुर्याउने गरेको दर्शन गर्न गएका भक्तालुहरुको आरोप छ ।
खच्चर या घोडाले प्रतिकिलो ५० देखि १०० सम्म ढुवानि खर्च लिँदापनि यो मुल्य सुचि ब्यवहारिक र पारदर्शि नभएको त्यहिका केहि ब्यापारीहरु स्विकार गर्गछन् ।
त्यहाँ कृयाशिल केहि क्लब र समितिहरु तथा लाङ्टाङ राष्ट्रिय निकुन्जले स्थानिय सरकार र सरोकारवालाहरुलाई समेत प्रभावमा पारेर यो कार्य भइरहेको ब्यापारीहरुको दावि छ ।
बर्षको एक मौसम मात्र चल्ने भएकोले यसरी आम उपभोक्ताको ढाड सेकिने मुल्य कायम गरेको उपभोक्ताहरुले आरोप लगाएका छन् ।
एक त धर्मगर्न जाने त्यस माथिपनि अत्यधिक थकाईको कारण त्यस क्षेत्रमा यात्रा गर्ने यात्रूहरु यस्तो मुल्यको बिषयमा केहि बोल्न सक्दैनन् । एउटा फ्रुटिको एकसय तिर्दा समेत चुईक्क बोल्दैनन् । अरु त छाडौं एउटा सानो रेडबुलको समेत सामान्यतय दुईसय पचास माथि लिईने गरेको रहेछ ।
मुल्य निर्धारण गर्दा त्यसका आधारहरुलाई केलाएर बास्तबिक लागत र नाफा को प्रतिशतको आधारमा गर्नुपर्ने हुन्छ तर त्यस क्षेत्रमा धार्मिक मेलाको समयमा त्यसो गरेको पाईएन ।
लोकल रक्सि समेत लुकाएर ५०० रुपैयाँ मानामा बेच्दा रहेछन् । सम्बन्धित निकायले यस्ता बिषयमा ध्यान नदिएको भन्दै गोसाईकुण्ड दर्शन गर्न जाने यात्रुहरुले गुनासो गरिरहेका थिए ।
The post रसुवाको गोसाईकुण्ड धार्मिक मेला बिस्तारै व्यापारिक महोत्सवकोरुपमा परिणत हुँदै : त्रिपालमुनि बसेको छ सय appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44yyRsf via IFTTT