रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् ।
उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् ।
सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए ।
करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Do2bEw via IFTTT
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्यका लागि आफूले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताएका छन् । नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले भने, “काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ ।”
उनले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताए । उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताए । जनतालाई काँग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो ।
कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए । कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए । पार्टीको सिद्धान्त र विचार विपरित कांग्रेस अगाडि बढेको उनको भनाइ थियो । सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हाँसिल गर्न नसक्ने बताए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ltuo76 via IFTTT
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिला मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले झण्डै तीन महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा २५ सदस्यीय देउवा सरकारमा ६ जना मात्रै महिलाले मन्त्री बन्ने अवसर पाएका हुन् ।
माओवादी केन्द्रले देउवा सरकारमा ६ मन्त्री पाएकोमा आफ्नो तर्फबाट ३ महिला मन्त्री पठाएको छ । जसमा पम्फा भुसाल उर्जा, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् ।
काँग्रेसबाट महिला मन्त्रीका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन् । एकीकृत समाजवादी र जसपाले एक–एक जना महिलालाई मन्त्री बनाएका छन् ।
समाजवादीबाट रामकुमारी झाँक्रीले सहरी विकास, जसपाबाट रेणु कुमारी यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएकी हुन् । समग्रमा देउवा सरकारमा महिलाको प्रतिनिधित्व २४ प्रतिशत पुगेको छ । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Fy0Ywj via IFTTT
काठमाडौं । यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सुदूर पश्चिमी प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन आजदेखि बाहिरिने भएको हो ।
केही दिनमा बाँकी भूभागहरूबाट मनसुन बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालमा मौसम बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष केही पर सरेको जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iMYFvQ via IFTTT
काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच आज साँझ भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले आज साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए ।
सो भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो । नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर्ने शैलीका साथै अन्य साङ्गठनिक आदानप्रदानका बारेमा कुराकानी भएको सहमहामन्त्री डा महतले बताए ।
भेटका क्रममा अध्यक्ष नड्डाले भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै भारतले नेपाललाई कहिल्यै पनि ठूलो दाजुको मानसिकताबाट नहेरेको र हेर्न नहुने स्पष्ट गरेका सहमहामन्त्री डा महतले जानकारी दिए । समयसमयमा हुने यस्ता प्रकारका भ्रमण र भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र कतिपय संवेदनशील विषयको बुझाइ र समझदारीमा पनि सहयोग पुग्ने धारणा अध्यक्ष नड्डाले राख्नुभएको पनि डा महतले जानकारी दिए ।
उनले भारतीय जनता पार्टी तथा भारत सरकारले नेपाली नागरिकको भावनाको सदैव सम्मान गर्ने भन्दै दुवै देशका नागरिकको भावना बुझेर जनताजनताबीचको सम्बन्धलाई थप विकसित गर्ने पक्षमा भाजपा र नेपाली कांग्रेस लाग्नुपर्ने पनि बताएका थिए । साे क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा आफूले हस्तान्तरण गरेको जानकारी पनि डा महतले दिए ।
उक्त द्विपक्षीय भेटमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि थिए। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको निमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए ।
त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत पुगेको हो । सो टोलीले पाँच दिनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Dp9tYD via IFTTT
काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो ।
उनको विपक्षमा २३ मत खसेको छ । उनको विपक्षमा लोसपा र नेकपा एमालेका सांसद्हरुले मत दिएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aes9hn via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषदमा पठाउने थप मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंग्याएको हो ।
माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री पठाउने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
कस–कसलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सत्ता गठबन्धन बैठकमा माओवादीलाई थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी र कृषि तथा पशुपन्क्षी मन्त्रालय दिने सहमति भएको थियो ।
यसअघि नै माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा पम्फा भुसाललाई पठाइसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3AiJFLW via IFTTT