काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छन् ।
बिहीबार अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेकी छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Zcj97O via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेलामा कृषिमन्त्री घनश्याम भुषालको संयोजनमा स्थायी कमिटीका झण्डै एकदर्जन नेताहरुले बिहीबार छलफल गरेका छन् ।
कृषि मन्त्रालयको हलमा कृषिमन्त्री भुसालसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा र विष्णु रिमाल सहभागी थिए ।
दोस्रो तहका नेताहरुले तत्काल सडक प्रदर्शन र आरोप प्रत्यारोप रोकेर पार्टी एकताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारी गरेका छन् । नेताहरुले सडक प्रदर्शन र सामाजिक सञ्जालमा आएका टिप्पणी वातावरण थप बिग्रिएको निष्कर्ष पनि निकालेका छन् ।
सामाजिक सञ्जालको गलत टिप्पणी र सडक प्रदर्शन रोक्न पहल गर्ने जिम्मेवारी भुषाललाई दिइएको एक नेताले नागरिकखबरलाई जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमै सडक प्रदर्शन चर्किएको छ ।
सडक प्रदर्शनका क्रममा नेताहरुलाई भारतीय दलाल भनेर टिप्पणी गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल प्रदर्शन रोक्न अर्का अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले त्यसलाई अस्वीकार गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fiHqOY via IFTTT
काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लक डाउनको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो ।
सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भने पनि प्रधानमन्त्री ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
बुधबार काठमाडौं उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ । अत्यावश्यक सेवा क्षेत्र खुला भए पनि लकडाउन पुरै खुलेको छैन । पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढे पनि सडकमा प्रदर्शनकारीहरुको भिड देख्न सकिन्छ ।
प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दावाद’, आइएम विथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहना, सरकार परिवर्तन गर्न पाइँदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर, सरकार ढाल्न पाइँदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका छन् ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Zb1Rbb via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबार भेटवार्ता भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता झण्डै एक घन्टा चलेको स्रोतले जनाएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओली र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । यसअघि पनि पार्टीभित्रका हरेक कदम चाल्नुअघि ओलीले भण्डारीको परामर्श लिने गरेका छन् ।
बुधबार बेलुकी ५ बजे भएको ओली र प्रचण्डबीचको भेटवार्ता सकरात्मक हुन सकेन । ओलीले आफूलाई हटाएर देखाउनका लागि चुनौती दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZSPpvI via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज डेढ घन्टा भेटवार्ता भएको छ । आफ्नै पार्टीका नेताहरुलाई भारतीय दलाल भन्दै सडकमा भइरहेको प्रदर्शनबाट सुरु भएको संवाद अन्तिममा अर्को वार्ताको समयसमेत अनिश्चित बनेर टुंगिएको छ ।
बेलुकी ५ बजे सुरु भएको वार्ता बेलुकी ६:३० बजे सकिएको थियो । भेटवार्ताका क्रममा आज ओलीनिकट नेता, कार्यकर्ताले देशभर गरेको प्रदर्शनका विषयबाट समग्र विषय प्रवेश भएको थियो । तर, अन्तिमसम्म पुग्दा सहमति उन्मुख भन्दा पनि अर्को वार्तासमेत टुंगोमा नपुगेको सचिवालय सदस्यहरुले बताएका छन् ।
सुरुमा प्रचण्डले आफ्नै पार्टीका नेताहरुलाई सडकमा गाली गर्न लगाएर के गरेको ? भनेर ओलीलाई सोधेका थिए । त्यसपछि ओलीले प्रदर्शनलाई स्वभाविकरुपमा लिनुपर्नेमा जोड दिएका थिए ।
सुरुवातमा प्रचण्डले भने, ‘यो पञ्चकालीन शैलीमा देशभर प्रदर्शन गर्न लगाएर तपाईँले के गर्न खोज्या ? यो राम्रो भएन । आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएर पार्टी एक ठाउँमा हुन्छ ? मिलाउँ भनेर मैले गरेको प्रयास कसरी सफल होला ?’
ओलीले लगत्तै जवाफ फर्काए । उनले भने, ‘आफ्नो नेतालाई जबरजस्ती फाल्न खोजेपछि प्रदर्शन हुनु स्वभाविक हो । पार्टी एकता कसरी हुन्छ ? प्रदर्शन हुँदै जान्छ । यस्तैले त हो नि अगाडि बढ्ने । देखाए भो नि आफ्ना पनि सडकमा । सबैलाई देखाइदिन्छु, देखाउनलाई त प्रदर्शन भएको होला ।’
पार्टी एकता बचाउनु पर्छ भनेर लागेको स्मरण गर्दै प्रचण्डले भने, ‘कहिले पार्टी फुट्यो भन्नु हुन्छ । कहिले पार्टी दर्ता गर्न भन्नुहुन्छ । कहिले अध्यादेश ल्याउने तयारी गर्नुहुन्छ । कहिले आफ्नै पार्टीको बैठक छाड्नु हुन्छ । यसरी कसरी एकता कायम हुन्छ ? तपाईँको योजना के हो ?’
त्यसको पनि ओलीले जवाफ फर्काए । उनले भने, ‘सकेको गर्नुस् तपाईँहरुले पनि मैले पनि गर्छु । तपाईँहरुले कारबाही गर्नुस् मैले पनि देखाइदिन्छु व्यवहारबाट । पार्टी एकता अब हुँदैन । कसरी हुन्छ एकता ?’
प्रचण्डले आवेश र आक्रोशले कुनै पनि कुरा नहुँने भएकाले अहंकार र घमण्ड त्याग्न ओलीलाई आग्रह गरे । उनले भने, ‘तपाईँमा अहंकार र घमण्ड भरिएको छ । त्याग्नुस् राम्रो हुन्छ । आम कार्यकर्ता र जनताको भावनाले गर्दा एकताकै पक्षमा लागेको छु । सबैकुरा त्यागेर मात्र यहाँसम्म आएको हो । तपाईँले त कुर्सीको स्वार्थमात्र हेर्नुबाहेक के गर्नुभयो पार्टी एकताका लागि ? त्याग भन्ने पनि हुन्छ । जहिल्यै घमण्ड र अहंकार ?’
ओलीले छलफलका क्रममा अहिले जसरी पार्टी एक ठाउँमा नहुने प्रष्ट पारेका छन् । उनले भने, ‘महाधिवेशन कुरेर एकल अध्यक्ष बन्नुस् । फेरि चुनाव लडेर प्रधानमन्त्री बन्नुस् । अब यो पार्टी एक हुँदैन । तपाईँसँग भन्दा पनि अन्य वरिष्ठहरुका क्रियाकलापले पहिले पनि हैरान थिए, अहिले झन थपिएको छ ।’
सरकारको काम अहिलेसम्मकै राम्रो भएको दावी पनि ओलीले गरेका थिए । उनले प्रचण्डसँगको भेटवार्तामा भने, ‘कोरोनाको व्यवस्थापन दक्षिण एसियामै राम्रो गरिएको छ । विकासको राम्रो सुरुवात भएको छ । सडकहरु चिल्ला भएका छन् । तर, दुई चारजनाले बैठकमा केही भएन भनेर उफ्रिन्छन् । सरकारको काम जनताले देखेका छन् ।’
भनाभनबाट सुरु भएको ओली प्रचण्ड वार्ताकै क्रममा ओली उठेर हिँडेपछि प्रचण्ड पनि बालुवाटारबाट बाहिरिएका थिए । सकरात्मक छलफल अगाडि बढेको भने पनि अर्को भेटवार्ताको मितिसमेत तय नभएरै आजको भेटवार्ता सकिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2W2Azln via IFTTT
काठमाडौं । समाजवादी पार्टीले आफ्नो पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई पदबाट सांसद र पार्टी दुवै पदबाट निष्काशन गरेपछि उनले अदालत जाने घोषणा गरेकी छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूमाथि भएको अन्यायकाविरुद्ध भोलि नै अदालत जाने घोषणा गरिन् ।
पार्टीका अन्य दुईजना सांसदले पनि पार्टीको ह्विप नमानेको दावी गर्दै उनले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेकी छन् । कार्यदलको सिफारिसमा गिरीलाई आज समाजवादी पार्टीले निष्काशन गरेर उनको ठाउँमा लीला सिटौलालाई सांसद बनाउन सिफारिस गरिसकेको छ ।
गिरीले भनेकी छन्, ‘संशोधनको पक्षमा भोट नहाल्ने सांसद म मात्रै होइन । सांसदद्वय अमृता अग्रहरी र सूर्यनारायण यादवले बहिस्कार गरेका हुन । त्यो दिन सांसद यादव संसदीय दलमा उपस्थित भएको प्रमाण मसँग छ । अमृता अग्रहरी पनि जानाजान अनुपस्थित हुनुभएको हो । उहाँहरुलाई कारबाही कस्ले गर्छ ?’
नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट आज निष्काशन गरेको छ ।
पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो ।
समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3e6hyEQ via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा मंगलबार शिष्टाचार भेट गरेका छन् ।
उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्ट्रपतिले जोड दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31VtLJS via IFTTT