लमजुङ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताएका छन् । आज लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल सङ्गठन सुदृढीकरण तथा जागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा बनेको पाँच दलीय गठबन्धन सरकार टिकाउनुपर्ने बताएका हुन्।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भइसकेको र माधव नेपालसहित पाँच दलीय गठबन्धनको संसद्मा सरकार बनाउन बहुमत पुग्ने भएकाले अब केही दिनभित्रै सरकारले पूर्णता पाउने उनको भनाइ थियो । उनले फरक प्रसङ्गमा देशको हितमा एमसीसी रहेकाले लागू गर्नुपर्नेमा जोड दिए । विदेशी सहयोग लिएर मात्र देश बलियो बनाउन सक्ने चर्चा गर्दै उहाँले अहिले एमसीसी लागू गरेर देश विकास गर्दै बलियो बनाउनुपर्ने बताए ।
“हामी अहिले बलियो नहुँदा र गरिब देश हुँदा सबैलाई चिढ्याउने काम गर्नुहुँदैन, हात्तीसँग कुस्ती खेल्नु हुँदैन, बुद्धिले काम गर्नुपर्छ”, उनले भने, “अहिले विदेशीको सहयोग लिएर देश बलियो बनाउन सके लिपुलेकदेखि अमेरिकासँग पनि विभिन्न कुरा गर्न सकिन्छ ।”
लामो समयसम्म प्रमुख राजनीतिक दलले देश चलाए पनि विकास दिन नसकेकाले अब जसपा नै वैकल्पिक शक्ति रहेको उनले बताए । सङ्घीयता लागू भए पनि अझै पूर्णरूपमा सङ्घीयताको महसुस नभएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री भट्टराईले देशमा अझै गरिबी, दलित जनजाति, महिला पीडित नै रहेकाले यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zUC9H9 via IFTTT
काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।
एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ रहेको ती नेताको भनाई छ ।
यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने पनि मन्त्री बन्दैछन् । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय भागवण्डा परेको छ । तर कुन मन्त्रालयमा को जाने भन्ने चाहिँ टुंगो लाग्न बाँकी रहेको ती नेताले बताए ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी गरेको छ । खारेज भएको सिफारिस राष्ट्रपतिले जारी गरे लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZEaain via IFTTT
काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ ।
सोमबार बसेको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको हो ।
१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।
धेरै ठाउँमा १० बुँदे कार्यान्वयन भएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए । एकाध ठाउँमा देखिएको समस्याबारे पनि सकारात्मक कुराकानी भइरहेको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mlLJOz via IFTTT
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा काँग्रेस र एमाले परित्याग गरी एकै पटक ३५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्लागण्डकी– १२ का वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा उक्त संख्याका कार्यकर्ताहरु पुरानो पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
वडा कमिटी सदस्यहरु क्या.सोमबहादुर गुरुङ, बिगत १७ बर्षदेखि गाउँकमिटी सदस्य हुँदै हाल वडा कमिटी सदस्य बनेका रेमबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, खुमप्रसाद गुरुङ, छविलाल गुरुङ लगायतका पदाधिकारीहरु पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेका कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देब गुरुङले टीका लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । एकै पटक काँग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि शुक्लागण्डकी–१२ मा ठुलो धक्काको महसुस भएको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o9XRVj via IFTTT
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेको छ । आयोजित पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी आचार्यले सन् २०२१ देखि २०२३ सम्मको नेतृत्वका लागि उम्मेदवारीसहित प्रतिबद्धता सार्वजनिक गरेको हो । उनी अघिल्लो निर्वाचनमा पनि अध्यक्षको प्रत्यासी थिए । अध्यक्ष कुमार पन्तसँग झिनो मतले पराजित भएको थियो ।
संघको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । अध्यक्षका प्रत्यासी आचार्यले संघलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा मञ्च बनाउने उद्घोष गर्दै नागरिकता र सम्पत्तिको अधिकार स्थापित गर्ने प्रतिबद्धता जनाए ।
संस्थाभित्र पद्धति र पारदर्शितालाई जोड दिने बताउँदै उनले भने, “संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएकाले संस्थाको साख गिरेको अवस्था छ, अनियमितता र दुरुपयोगको गुनासो बढ्दै गएको छ, व्यवस्थित र पारदर्शिता कायम गर्नु मेरो मुख्य लक्ष्य रहेको छ ।” आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संघको पञ्जीकृत सदस्यको संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्को संख्या कम्तीमा एक सय पु¥याउने घोषणा गरे ।
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आएको छ । उनी लण्डनका स्थापित व्यवसायी हुन् । होलीकाउ ग्रुपअन्तर्गत व्यवसायमा होमिएका आचार्यले बैंकिङ, जलविद्युत्, पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा लगानी गरेको छ ।
करिब दुई दशकदेखि संघमा आबद्ध आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै सङ्गठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतमा राखेको बताए । वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै आचार्यले मध्यपूर्व, मलेशियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने बताए।
महिला कामदारको सुरक्षा र सीप विकासमा ध्यान दिने उनको भनाइ थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने, स्वदेशमा लगानीको वातावरण सिर्जना गर्न उनको प्रतिबद्धता छ । यस्तै पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने, कोभिड महामारीले रोजगारी गुमाएकालाई रोजगारी सिर्जना गर्न पहल गर्ने, खाडी क्षेत्रमा रहेका नेपालीको सानो सानो पूँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानीको अवधारणलाई अगाडि बढाइने योजना रहेका छन् ।
आचार्य प्यानलबाट संघको महासचिवमा अमेरिका निवासी चिकित्सक डा.केशव पौडेलले उम्मेदवारी घोषणा गरेको छ । उनले संघलाई पारदर्शी र परियोजनामुखी बनाइने बताए । पत्रकार सम्मेलनमा संघका संस्थापक महासचिव भीम उदासलगायत संघका विभिन्न पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZDOPpr via IFTTT
काठमाडौं । मनसुनी अवधि शुरु भएयता देशभर ११३ प्रतिशत पानी परेको मौसम विष्लेषण शाखाले जनाएको छ । मनसुनी औसतको प्रणाली वाहिरिन अझै सात दिन बाँकी रहेपनि औसत बर्षा भन्दा १३ प्रतिशत बढी पानी परेको शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
यस वर्ष सबै भन्दा धेरै जोमसोममा २३० प्रतिशत पानी परेको छ भने काठमाडौंमा १२५, भैरहवामा १५५ र जुम्लामा १२० प्रतिशत पानी परेको छ । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने औसत भन्दा कम ९७ प्रतिशत मात्र पानी परेको शाखाको तथ्याङ्क छ ।
मनसुनको न्युनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली वाहिरिने सम्भावना नभएकाले स्थानीयबायु सक्रिय हुदाँ घामसँगै छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
भारतबाट मनसुनी चक्र वाहिरिए पछि मात्र नेपालबाट पनि मनसुन वाहिरीने भएकाले मनसुनी प्रणाली वाहिरिन अझै केही दिन लाग्ने उहाँले बताउनुभयो । भारी वर्षा हुने सम्भावना टरेको छ तर अझै मध्यभागमै न्युनचापीय रेखा रहेकाले सामान्य वर्षको सम्भावना कायमै रहेको प्रधानाङगले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षदेखि मनसुनी अवधिको समय परिमार्जन गरेसँगै मनसुनी प्रणाली वाहिरिन औसत समय अनुसार अझै सात दिन बाँकी रहेको महाशाखाले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CMmknD via IFTTT
दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले पार्टी अध्यक्ष प्रचण्ड अहिले पार्टीभित्रका गुट तथा उपगुटहरुबाट आजित भएको बताएका छन् । शनिबार पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चेतावनी दिँदै भने, ‘अब पार्टीभित्र गुटबन्दी गर्नेहरू ध्वस्त हुन्छन् ।’
नेता महराले आफूलाई पनि धेरैले गुट निर्माण गर्न नसकेको भन्ने गरेको बताए । आफू गुट र उपगुटको म सँधै विरोधी रहेको बताउँदै नेता महराले पार्टी निर्माणमा लाग्न चाहेको बताए । पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरु रहेको उनको भनाई थियो ।
उनले अध्यक्ष प्रचण्डले पार्टी भित्रका विकृतिहरूका विषयमा गम्भीर ढंगले कुरा उठाइरहेका र साँच्चै समाजवादमा पुग्ने हो भने हामीले क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी रहेको दाबी गरे । समाजवादमा पुग्नका लागि पार्टी संगठन क्रान्तिकारी र चुस्त बन्नुपर्ने महराको भनाई थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iajm4y via IFTTT
काठमाडाैं । नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।
कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।
मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।
कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन केन्द्रित भएर लामो छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जानकारी दिनुभयो । कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । पार्टीको महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रियामा पार्टीले अङ्गीकार गरेको समावेशिताका विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भएको कोषाध्यक्ष यादवले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष यादव, सहमहामन्त्री प्रकाशशरण महत पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललगायतको उपस्थिति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3AEYHfV via IFTTT
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खांडले बिहिबार मन्त्रिस्तरीय निर्णय गर्दै सशस्त्र प्रहरीका १० जना डिआईजीहरुको काज सरुवा गरेका छन् ।
सरुवा हुनेमा डिआईजीहरुमा कमल गिरी १ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान बागमती प्रदेश, शम्भु सुवेदी गण्डकी प्रदेश, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, दुर्गा भट्टराई सुदुरपश्चिम प्रदेश, राजु अर्याल मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।
डिआईजी अभिकुमार खत्रीलाई कर्णाली प्रदेशमै यथावत रहेका छन् भने मन्दीप श्रेष्ठ प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । डिआईजीहरु नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ELFgoa via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशिल सदस्यता विवाद भएका जिल्लामा असोज ९ गते पछिमात्र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद रहेका स्थानमा विवाद टुङ्ग्याउदै पार्टीको निर्वाचन समितिले उपयुक्त समयमा केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि तोकिएको समयमा नै वडा अधिवेशन भएको स्थानमा असोज ९ गतेका लागि निर्धारित पालिकास्तरको अधिवेशन हुने र अन्य जिल्लाको हकमा पार्टीको निर्वाचन समितिले आवश्यक निर्णय गरेर मिति तोक्ने सहमति भएको जानकारी दिए ।
दसैँअघि बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति बैठकमा भएको उनले बताए । त्यस्तै प्रवक्ता शर्माले अधिवेशन अवरुद्ध भएका स्थानमा सहमतिका साथ नै अघि बढाइने जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्र छलफल भएको र मन्त्रिपरिषद् विस्तारमा बारेमा औपचारिक छलफल नभएको उनले बताए ।
त्यस्तै बैठकपछि कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार गठन वा पार्टीको विषयमा पार्टी सभापतिले सबैसँग सल्लाह नै गरेर अघि बढेको बताए । त्यस्तै उनले जिल्लामा रहेका नेता तथा कार्यकर्ताको भावना अनुसार नै दसैँ अगाडि नै जिल्ला तहसम्मको अधिवेशन टुङ्गाउनुपर्नेमा आफ्नो जोड रहेको बताए ।
कांग्रेसले प्रदेश र जिल्ला अधिवेशन पनि दसैँपछि गर्ने निर्णय गरेको छ । यसअघिको कार्यतालिकामा असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र र १५ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kA7MRU via IFTTT
काठमाडौं । राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परराष्ट्र सेवाका ‘करिअर डिप्लोम्याट’ बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।
परराष्ट्र सेवाका राजदूतहरु भने यथावत रहने बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lQOqaB via IFTTT
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुको बैठकले परराष्ट्र मन्त्री नेपाली काँग्रेसका नेता डा नारायण खड्कालाई बनाउने निर्णय गरेको छ । मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उनले भोलि पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ । अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन । मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो । लामो समय बितिसक्दा पनि मन्त्रीमण्डल पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZlQ24r via IFTTT
काठमाडाैं । कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः सुरु भएको छ । कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदैआएको छ ।
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिने आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । कम्पनीका अनुसार रु नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । पर्वतीय उडानमा ठूला जहाज (एटीआर) जहाजको प्रयोग गरिनेछ ।
सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् । निजी क्षेत्रकै अर्को अग्रणी वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिबार र आइतबार पर्वतीय उडान गर्ने भएको छ । कम्पनीले रु आठ हजार ८४८ मा दुई वटा टिकट बिक्री गर्नेछ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको पर्वतीय उडान हुन्छ । शरद ऋतु सुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान सुरु गरेका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2XGLFjK via IFTTT
काठमाडौं । नेपालले झन्डै रू १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ ।
पटकपटक रेल सञ्चालन गर्ने भनिए पनि भाखा सरेको सर्यै छ, तर रेल हालसम्म पनि प्रयोगविहीन अवस्थामा छ । भारत सरकारले नेपाल–भारत सीमाका विभिन्न पाँचओटा नाकामा रेलमार्ग बनाउने सन् २०१० मा घोषणा गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा जनकपुर–जयनगर खण्डको ३४ किलोमीटर (किमी) मा सञ्चालन गर्न रेल ल्याइएको थियो र परीक्षण सञ्चालनसमेत सफल भएको थियो ।
पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमीटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमीटर र तेस्रो चरणमा भंगहादेखि बर्दिवाससम्म १७ किलोमीटर गरी जम्मा ६९ किलोमीटर रेलवे सेवा सञ्चालन गर्ने योजना छ । तर, नेपालको तयारी फितलो हुँदा रेल ल्याए पनि उपयोगविहीन अवस्थामा पार्किङमा राखिएको छ । सरकारले अर्ब लगानी गरेर किनेका ती रेल कहिले चल्छन् भन्ने विषय अझै यकिन छैन ।
भन्सारबाहेक रू ८५ करोड ६५ लाखमा दुई सेट रेल नेपाल सरकारले किनेको थियो । यसमा रू १५ करोड भन्सार लागेकाले रू १ अर्ब लागत पुगेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले नेपालमा रेल ल्याए पनि त्यसका लागि आवश्यक जनशक्ति नहुँदा र जनशक्ति भर्नामा समेत समस्या देखिए पछि रेल चलाउन सम्भव नभएको बताए । अहिले केही जनशक्तिलाई तालीम दिइसकेको र अन्य तयारी पनि भएकाले अब भने रेल चलाउन सकिने आधार तय भएको उनको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hN9fCt via IFTTT
काठमाडाैं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।
नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।
नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39koK01 via IFTTT
काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । यस्तै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृत्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
२१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताए । परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको उनले बताए । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।
कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन । विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hNZJ22 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पार्टी कार्यालय भोलि शुक्रवारबाट औपचारिक रुपमा उद्घाटन हुने भएको छ ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बिहिवार ट्वीट गर्दै नयाँ बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण)मा पूजा थापा बस्नेताको घरमा रहने जनाएका हुन् ।
उनले असोज १ गते शुक्रवार बिहान १० बजे आफ्नो पार्टी कार्यालयको उद्घाटन गर्ने पनि जानकारी दिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hHZyVY via IFTTT
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ ।
महासङ्घले आज काठमाडौँस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले काठमाडौँस्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए ।
“बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाइ र समस्याको सामना गर्नुपरिरहेको छ”, वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसरी हामी सरोकारवालाबीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरलरूपमा भिसा उपलब्ध हुनेछ ।”
नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए । नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा एक दशमलव सात प्रतिशत र आयातमा बेलायतको हिस्सा शून्य दशमलव १६ प्रतिशत मात्र रहेको जानकारी दिए ।
नेपाल र बेलायतबीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबका दिनमा निजी क्षेत्रमार्फत उचाइमा पु–याउन सकिने उनको विश्वास छ । नेपाल र बेलायतबीच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उहाँले यसका लागि महासङ्घसहित ‘नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ’ले काम गरिरहेको जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/395bImP via IFTTT
मोरङ । प्रदेश नं १ को वर्तमान सरकारलाई नेकपा (एकीकृत समाजवादी)ले आज समर्थन फिर्ता लिएको छ । प्रदेशसभा सचिवालयमा नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ ।
सो पार्टीका प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई उक्त पत्र हस्तान्तरण गर्नुभयो । दर्ता नं १४७ को पत्रमा एकीकृत समाजवादीले वर्तमान सरकारलाई आफ्नो दलका तर्फबाट रहेको समर्थन आजको मितिदेखि फिर्ता गरेको उल्लेख गरिएको छ ।
सो अवसरमा प्रदेशसभा सदस्य रेग्मीले वर्तमान सरकार अल्पमतमा रहेकाले एकीकृत समाजवादीको नेतृत्वमा आगामी प्रदेश सरकार गठनका लागि केन्द्र तथा प्रदेशमा विभिन्न गठबन्धन दलसँग छलफल गरी सहमति पुग्ने विचार व्यक्त गरे । उनले एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राई र राजन राई रहेको दुई सदस्यीय वार्ता टोली गठन गरी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग छलफल गर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सर्वोच्च अदालतमा मुद्दा चलिररहेकाले एकीकृत समाजवादी दल आधिकारिक नभएको बताए । उनले अदालतको फैसलापछि मात्र प्रदेश सरकारले विश्वासको मत लिने वा राजीनामा दिने सम्बन्धमा पार्टीले आधिकारिक निर्णय लिने जानकारी दिए ।
प्रदेशसभाका सचिव पराजुलीले एकीकृत समाजवादीको समर्थन फिर्ता पत्रका सम्बन्धमा प्रदेश प्रमुखको कार्यालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको बताए । उनले यस सम्बन्धमा नेपालको संविधान, प्रदेशसभा नियमावली र प्रचलित कानूनअनुसार अगाडि बढ्ने जानकारी दिए ।
यसअघि आज एकीकृत समाजवादीको प्रदेश नं १ संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको सार्वजनिक गरिएको थियो । नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० जना सदस्य रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2YTLLVH via IFTTT
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने सोमबार ज्येष्ठ सदस्य बलबहादुर स्वडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले निर्णय गरेको हो । सुदूरपश्चिममा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
सरकारमा एकीकृत समाजवादीका दुईजना मन्त्री रहेका छन् । उनीहरू एमालेमै रहँदा सरकारमा सहभागी भएका थिए । एमाले विभाजनपछि उनीहरूले एकीकृत समाजवादी रोजेका छन् ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ । उसका १४ जना प्रदेश सभा सदस्य छन् ।
सोमबारको बैठकले संसदीय दलको नेता चयन गर्न नसकेपनि विधान मस्यौदा समिति भने बनाएको छ । प्रदेश सभा सदस्य प्रकाश रावलले सांसदहरू दुर्गा विक, अमर साउँद र कुलबिर चौधरी रहेको समिति बनाएको बताए ।
‘विधान मस्यौदा समितिले भोलि नै बस्ने दलको बैठकमा मस्यौदा पेश गर्छ,’ सांसद रावलले भने, ‘त्यसपछि दलको नेता चयन लगायतको काम हुन्छ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3951hQm via IFTTT
हेटौडा । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको औपचारिकता पाएपछि आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ ।
प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले धादिङ–१ को (प्रदेश १) बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो ।
दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिति रहेको प्रदेशसभाका सदस्य एवं एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।
बैठकले बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो पार्टीको समर्थन नभएको निर्णय पनि गरेको छ । सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको बारेको जानकारी प्रदेशसभा सचिवालय र सरकारको मुख्यमन्त्री कार्यालयलाई आजै जानकारी गराउने निर्णय पनि एकीकृत समाजवादीले गरेको छ ।
एकीकृत समाजवादीको प्रदेश संसदीय दलको विधान पारित गरेको छ भने पार्टीका लागि कार्यालय उपलब्ध गराउँन बागमती प्रदेशसभा सचिवालयलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
आइतबार निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरूको नामावलीसहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि बैठक बसेको हो ।
बागमती प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या पनि आठ पुगेको हो ।
बागमती प्रदेशसभामा एमाले ४३ सांसद्का साथ पहिलो, २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहितको नेकपा एकीकृत समाजवादी चौथो, तीन सांसद् भएको विवेकशील साझा पार्टी पाँचौं, दुई–दुई सांसद रहेका राप्रपा र नेमकिपाका क्रमशः छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा एकजना सांसद स्वतन्त्र हैसियतमा रहेका छन् ।
प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदले पनि आधिकारिकता पाएका छन् ।
एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VBKmSp via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टराई कारबाही प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।
एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार आदेश जारी गरेको हो।
एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको निर्णयविरुद्ध पाण्डे र भट्ट सर्वोच्च अदालत पुगेका थिए।
पाण्डे र भट्टले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको इजलासले उनीहरूको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन भनेको हो। दुवै पक्षलाई २९ भदौमा बोलाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Ees9LU via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो–हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधीनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।
शनिवार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताउनु भयो ।
नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उहाँले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने विश्वास दिलाउनुभयो ।
संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले बताउनुभयो ।
उहाँले अहिले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै दक्षिणपन्थीहरु विस्तारै बिलाएर जाने बताउनुभयो ।
उहाँले केपी ओलीले विदेशीसंग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताउनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38YIeaa via IFTTT
काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद् नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।
कोरोना भइरसको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४औँ महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l9U1Iw via IFTTT
चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ । भाद्र शुक्ल तृतिया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र संस्कृति बोकेको छ ।
तीज र ऋषिपञ्चमी महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गर्दछन् । आफ्ना पतीको दिर्घायु तथा परीवारजनको सुख समृद्धिको लागी व्रत बस्ने चलन पनि तिज पर्वको अर्को धार्मिक पाटो रहेको छ । तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको प्रति पुराना पुस्ताको चिन्ता पनि छ ।
हुदाखानेले हुनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा ब्याप्त देखिन्छन । गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले बिकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्ब मनाउने भन्दा पनि कसरी छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ ।
नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा आएका गित नेपाली मौलिकता पन, नेपाली संस्कृति, भन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिडीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरु नेपाली मौलिकता पन नदेखिएको पुराना कलाकारहरुको भनाई छ । पछिल्लो समय हाम्रो समाज पुरानो शैली भन्दा फरक भएको पनि मौलिक संस्कृतिलाई मोड्न नहुने सबै समुदायको जोड छ ।
अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घट्ना अहिलेको समाजमा हट्दै गएकाले केहि परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू भएको प्रति धेरैको चिन्ता छ । तर बिगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई बिकृति बनाइदै छ ।
अहिलेको समाज परिर्वतनशिल छ । समाज परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन् । संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफु अनुकुल परिभाषा आफु अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथी प्रश्न उठ्न थालेको छ ।
पहिले तिजको बेला बिभिन्न मन्दीर खेला मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन बिस्तारै इतिहास बन्न थालेको छ ।
अहिले तिजको दिन पनि यसरी जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तिज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउन्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।
झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तिज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न जान थालेको छ । तिज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनु भन्दा पछिल्लो पिढि देखासिखी तर्फ लागेको पुराना पुस्ताको चिन्ता छ ।
तीजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीतहरुमा पनि एउटा संस्कृति बोकेको छ । तर पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।
तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदना भन्दा पनि फरक खालको संस्कृति भित्रिएको प्रति पुराना पुस्ताको चिन्ता छ ।
तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व को रुपमा लिइन्छ । विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गित मार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि तीज हो ।
महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ ।
तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3laevRg via IFTTT
काठमाण्डौ । गत शूक्रबार भारत भ्रमणमा गएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी आज स्वदेश फकिएका छने । अध्यक्ष ढकाल भारतमा रहदाँ भारतका विभिन्न राजनैतिक नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेटि नेपालको बिकासमा सहयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष ढकालले नेताहरु संगको संबादमा नेपालको संबेदनशिलतालाइ मनन गरि एक असल र बिशाल छिमेकीको रुपमा भारतको थप सहयोग र सदभाब नेपालको अपेक्षा गरेको बताउँर्द पछिल्लो समय कोभिड –१९ बिरुद्धको नेपालको लडाईमा सहयोग गरेकोमा भारतीय सरकार तथा जनताप्रति आभार ब्यक्त गरेका छन् ।
पूर्वमन्त्री ढकालले सार्क लाई क्रियाशील गर्नु पर्ने, क्षेत्रीय शान्ति, सुरक्षा र बिकासको लागी उच्च स्तरीय समझदारी हुनुपर्ने लगाएतका धारणाहरु राख्नु भएको ढकालको सचिवालयले जनाएको छ । भेटमा भारतीय नेताहरुले नेपाल संगको मित्रता अतुलनिय रहेको भन्दै एक–अर्काका सम्बेदनशिलतालाई बुझी मित्रता थप प्रगाड बनाउनु पर्ने बताएका थिए । अध्यक्ष ढकालले पूर्व उप–राष्ट्रपति हमिद अन्सारी, भारत सरकारका कानुन तथा न्याय केन्द्रिय मन्त्री कीरेन रिजिजु, परराष्ट्र राज्य मन्त्री डा राजकुमार रंजन सिंह, केन्द्रिय राज्यमन्त्री रामेश्वर तेली, बिजेपिका पूर्व महासचिव तथा आरएसएस का राष्ट्रिय कार्यकारिणी राम मानव, कांग्रेस नेता मनिशंकर एयर, बिजेपी नेता बिजय जोली, सांसद भुवनेश्वर कालिता, आम आदमी पाटिका बिधायक अजय दत्त लगाएतका नेताहरुसंग छुट्टा छुट्टै छलफल गरेको भ्रमणमा सहभागि परिवार दलका प्रबक्ता सन्तोष पौडेलले दिए । नेता ढकालको भ्रमणले दुई मित्रराष्ट्रका नागरिक बिचको सम्बन्ध थप मजबुत बनाउन सफल रहेको ढकालको सचिवालयले जनाएको छ ।
अध्यक्ष ढकालले इंडिया इन्टरनेश्नल सेन्टर, दिल्लीमा आयोजित “इन्डो–प्यासिफिक क्षेत्रको शान्ति र बिकासका चुनौती“ बिषयक अन्तरक्रियामा बोल्दै दक्षिण तथा पुर्बी एशियामा बिकसित घटनाक्रमको बारेमा गम्भीर विश्लेषण आबस्यक रहेको बताए । उनले म्यान्मारमा नागरिक सरकारको पुनर्बहाली गर्न तथा अफगानिस्तानमा शान्ति र मेलमिलापको खांतिर सार्क लाइ क्रियाशील बनाउनुको साथै भारतले बिशेष भूमिका खेल्नु पर्ने धारणा राखे । ढकालले क्षेत्रीय शान्ति र बिकासको लागी सरकार, नागरिक समाज र निजि क्षेत्रको भरपर्दो सहकार्यमा जोड दिनुपर्ने बताए । सोही कार्यक्रममा पूर्वमन्त्री मनीशंकर एयरले नेपाल लगाएत छिमेकि मित्रराष्ट्र प्रति भारतको पछिल्लो नीति मित्रता र बिश्वाश अभिबृद्धि गर्न असफल रहेको बताए । बिजेपी नेता तथा सांसद भुवनेश्वर कलिता, म्यानमार र अफगानिस्तानको लागी पूर्व भारतीय राजदुत गौतम मुखोपड्याय र राजिव भटिया, दिल्लीका बिधायक अजय दत्त, परराष्ट्र विज्ञ प्रोफेशर महेन्द्र पी लामा, पूर्व राजदुतहरु योगेन्द्र कुमार तथा केभी राजन, पूर्व मेजर जेनेरल अशोक मेहता लगाएतले आ–आफ्नो धारणा राखेका थिए ।
युपिएफ र आइआइपिपि बीच सम्झौतामा हस्ताक्षर
यसै बीच अध्यक्ष ढकालको भारत भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद्मा आबद्दता प्राप्त सस्था युनिभर्सल पीस फेडेरेसन र इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य प्राप्तीको लागि एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनिभर्सल पीस फेडेरेसन एशिया प्रशान्त क्षेत्रका अध्यक्ष समेत रहेका ढकाल तथा इन्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीकाका संस्थापक निर्देशक श्री केसी. सुन्दरमका बिचमा बिज्ञ समुह २०२२ लक्ष्य लाई समर्थन गर्ने सहमति पत्रमा सेम्टेम्बर ५ मा हस्ताक्षर भएको हो । दुवै हस्ताक्षरकर्ताहरूले एशिया प्रशान्त क्षेत्र तथा विश्वमा शान्ति, सुरक्षा तथा विकासको कार्यलाई बढावा दिने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एशिया प्रशान्त क्षेत्र तथा बिश्वमा शान्ति तथा समझदारीलाई बढावा दिन दुई संगठनहरूका बिचमा सहकार्य गर्ने तथा बिद्धता आदान प्रदान गर्ने प्रतिबद्दता समजदारी हस्ताक्षर कार्यक्रममा ब्यक्त गरियो । सोही अवसरमा भारत सरकारका बिदेश राज्य मन्त्री मानानीय डा. राज कुमार रन्जन ,राज्य सभाको सान्सद मानानीय भुबनेश्वोर कालिता ,नेपालका लागि पूर्व भारतीय राजदूत के. भि. राजन्, भारतिय जनता पार्ट्रीका नेता बिजय जोली, सुरक्षा विज्ञ प्रा. डा. महेन्द्र लामा लगायत बिशिस्ट ब्यक्तित्वहरुको रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hcHd2P via IFTTT
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारमिा मुख्यमन्त्री शाक्य रहेको स्रोतको भनाइ छ । पाँच मन्त्री र चार राज्यमन्त्रीको सपथ भोलि गराउने तयारी छ ।
मन्त्रीहरुको नाम टुंगो लगाइसकेको भएपनि सबैको नाम प्राप्त भएको छैन ।
स्रोतका अनुसार, सिन्धुलीका प्रदीप कटुवाललाई सम्भवत पर्यटनमन्त्री बनाउने तयारी छ । त्यस्तै, रामेछापका शान्तराम पौडेल र चितवनका विजय पौडेललाई मन्त्री बनाउने तयारी छ ।
त्यसैगरी, भूगोल र लैंगिक सन्तुलन मिलाउने गरी मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री रहेको स्रोतको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jPiHGU via IFTTT
काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउने तयारी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा छलफल अघि बढाएपछि नेपालमा यसबारे बहस र चर्चा चुलिएको छ भने नागरिकले यसको चर्को विरोध गर्दै आइरहेको छ ।
प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेको छ ।
मंगबार एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । सरकारले विज्ञप्ति जारी गरेर नै एमसिसी र भारतको विरोध नगर्न चेतावनी पनि दिइसकेको छ ।
५० करोड अमेरिकी डलरको एमसिसी परियोजना नेपालमा लागु गर्ने विषयमा नेपाल सरकारसँग सन् २०१७ मा सम्झौता भएको थियो । उत्त सम्झौता संसदबाट अनुमोदन हुन नपाइरहेकै बेला उपाध्यक्ष सुमारको नेपाल भ्रमण हुन लागेको हो ।
सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने जनाइएको छ । सो भेटमा उनले एमसिसी संसद्बाट अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्ने बताइएको छ ।
को हुन् फातिमा र जोनाथन ?
नेपालसँगको एमसीसी सम्झौताबारे एमसीसी मुख्यालयकी उपाध्यक्ष फातिमा सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स मंगलबार नेपाल आउँदैछन् । फातिमा र जोनाथनले प्रधानमन्त्री देउवा र शीर्षस्थ नेताहरूसँग भेट गर्नेछिन् ।
एमसीसी मुख्यालयको वेभसाइटमा उल्लेख गरिए अनुसार फातिमा सुमर अन्तरराष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति र वकालतमा पोख्त छन् । सुमार एमसीसीको कम्प्याक्ट अप्रेशनकी उपाध्यक्ष हुन् । उनले नै एमसीसी सम्झौताअन्तर्गत अमेरिकाले प्रवाह गरेको अनुदान सहायता हेर्ने उल्लेख छ ।
सुमारले पूर्वाधार, वातावरण, जलवायु परिवर्तन, निजी क्षेत्र, लैंगिक तथा सामाजिक समावेशीकरण, मानव र समुदाय विकास, भूमि तथा कृषि, खरिद, वित्त व्यवस्थापन, रणनीतिक साझेदारी, सम्झौता र अनुदान व्यवस्थापनमा पनि काम गरिरहेका छन् ।
उनी कम्प्याक्ट अप्रेशन उपाध्यक्ष हुनुअघि युरोप, एसिया–प्रशान्त, दक्षिण अमेरिका हेर्ने एमसीसीकी सहायक उपाध्यक्ष थिइन् । यी क्षेत्रमा एमसीसी कम्प्याक्ट व्यवस्थापन पनि उनले गर्थिन् ।
सुमरले अक्स्फार्म अमेरिकाकी उपाध्यक्ष पनि भइसकेकी छिन् । उनले अमेरिकी सरकारको कार्यपालिका र व्यवस्थापिका गरी दुवै क्षेत्रमा काम गरिसकेकी छिन् ।
अमेरिकी विभागमा दक्षिण तथा मध्य एसिया हेर्ने उप–सहायक निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी सुमरले विभिन्न देशमा आर्थिक र ऊर्जा क्षेत्रमा अमेरिकी संलग्नता बढाएकी थिइन् । अमेरिकी कंग्रेसमा उनी अफगानिस्तान, पाकिस्तान र सीमावर्ती क्षेत्र हेर्ने वरिष्ठ कर्मचारी थिइन् ।
सुमर अमेरिकाको प्रिन्स्टन, कोर्नेल र इन्डियाना विश्वविद्यालयकी सल्लाहकार बोर्डमा पनि छिन् । उनले प्रिन्स्टन विश्वविद्यालयबाटै सार्वजनिक मामिलामा ग्य्राजुुएट गरेकी छन् ।
यस्तै जोनाथन ब्रुक्स एमसीसीका कम्प्याक्ट अप्रेशनका सहायक उपाध्यक्ष हुन् । एमसीसी कार्यक्रमको प्राविधिक र क्षेत्रीय विभाग तथा एजेन्सीहरूको नियमन उनले गर्छन् ।
एमसीसीका मान्यता र साझेदारीमा केन्द्रित रही ब्रुक्सले नतिजा र नीतिगत सुधारमा काम गरिरहेको एमसीसी वेभसाइटमा उल्लेख छ । एमसीसीले विदेशी सरकारहरूसँग उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी पनि ब्रुक्सलाई नै दिएको विवरणमा उल्लेख छ ।
उनले एमसीसी सहायताका परियोजनाको गुणस्तर, खरिद मापदण्ड, वित्तीय व्यवस्थापन, वातावरण, सामाजिक प्रभाव र अनुुगमन तथा मूल्यांकनसमेत गर्छन् । यसअघि नै उनले एल–साल्भाडोर, इन्डोनेशिया, कोशोभो, मंगोलिया, नेपाल र टिमोर लेस्टेमा एमसीसी परियोजना अघि बढाउन काम गरिसकेका छन् ।
ब्रुक्स होन्डुरसमा एमसीसीका देशीय निर्देशक पनि भएका थिए । राजनीतिक अस्थिरताबीच त्यहाँ एमसीसीले जेनतेन केही परियोजनाहरू बनाएको छ । जर्जिटाउन विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका ब्रुक्सले दक्षिण अमेरिकी मुलुकहरूमा पनि काम गरिसकेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3n8jqVQ via IFTTT
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगले आफ्ना सांसद्माथि गरेको निर्णयविरुद्ध एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
आफ्ना १४ जना सांसद्माथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्यसको सूचना जारी नगरेको र कारबाही गरेका नेताहरुलाई निर्वाचन आयोगले पार्टी विभाजनमा सनाखत गराएको भन्दै एमाले सर्वोच्च गएको हो ।
एमाले अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । सो रिटमाथि आउँदो शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद् कारबाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए । रिटमा कारबाही गरेर १४ सांसद्लाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ ।
एमालेले १४ जनालाई सांसद् पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसद्लाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ ।
एमालेले १४ सांसद्लाई कारबाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद् सचिवालयमा सिफारिस गरेको थियो । तर, सभामुख सापकोटाले कारबाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसद्लाई कारबाही गर्नु नपर्ने निर्णय गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DxsUzs via IFTTT