काठमाडौं। नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहनेछ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए ।
बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fSuC2S via IFTTT
काठमाडौं। नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो ।
केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।
सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।
पोखरेल एआईजी बने नेपाल प्रहरीको भावी आईजीपी बन्ने लगभग पक्का छ। आईजीपीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।
हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुनेछन्।
२०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल प्रहरीको सर्वोच्च पदमा पुग्ने बाटो भने हालै मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) पास गरेसँगै खुलेको हो।
हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआइजी छन्। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुगेको छ।
प्रशासनतर्फ तीन एआइजी रहेकाले थप भएको एक दरबन्दीमा एकजना डीआइजीलाई बढुवा गर्नुपर्ने भएको हो।
यस्तो छ बढुवा सिफारिस सूची
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3losktH via IFTTT
काठमाडाैं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पु-याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो । स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ श्ययाका र सरुवा अस्पताल ५० श्ययाका रहेका छन् ।
प्रदेश नं २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ । अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ३०९ स्थानीय तहमा आधारभूत अस्पताल, तीन वटा सरुवा रोग अस्पताल र एक वटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको जानकारी दिए ।
शिलान्यास भएका अस्पतालको भवनको उद्घाटन पूर्वप्रधानमन्त्री, मन्त्रीगण, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखले एकैसाथ आज गरेका थिए । सात सय ५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो । उहाँले शिलान्यास हुन बाँकी रहेका स्थानीय तहमा अस्पतालको भवन यही महिनाभित्र गरिने जानकारी दिए ।
“जग्गा प्राप्तिका विषयहरु समाधान गरेर यहीँ मङ्सिरभित्र शिलान्यास हुनेछ”, उनले भने, “८७ स्थानीय तहमा आधारभूत भवन र चार वटा प्रदेशमा सरुवा अस्पतालको भवनको शिलान्यास जग्गा प्राप्ति गरेपछि हुनेछ ।” सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसङ्ख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरु स्थापना गर्ने कार्यक्रम रहेको थियो ।
यही कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले आज एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गर्नुभएको थियो । सोहीअनुसार आजै अर्थमन्त्री पौडेलले ललितपुरका गोदावरी नगरपालिकाको १५ श्ययाको अस्पतालको भवन, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गरेका थिए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेका थिए । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । सहप्रवक्ता डा अधिकारीले ३९६ स्थानीय तहका लागि ५८ अर्ब र सरुवा रोग अस्पताल र आकस्मिक उपचार विभागसहितका सबै अस्पतालका लागि अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितता भई बहुवर्षिय ठेक्का प्रणालीअनुसार आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिए ।
निर्माण हुन बाँकी रहेका अस्पतालको हकमा आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने छ । उहाँले शिलान्यास भएका ३०९ र शिलान्यास हुन बाँकी भएका ८७ स्थानीय तहका अस्पतालको भवन आगामी दुई वर्षभित्र बनिसक्ने बताए।
आज शिलान्यास भएकासँगै स्थानीय तहमा कूल चार हजार ८७५ श्यया, ९७५ चिकित्सकसहित ९७ हजार ६५२ जनशक्ति हुने छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह भई स्वास्थ्य सेवाको पहुँचबाट सबै नागरिकलाई सेवा प्रदान हुने विश्वास लिइएको बताए । मन्त्रालयले नगरपालिकामा १५ श्यया र गाउँपालिकामा हेरेर पाँच र १० श्ययाको अस्पताल भवन बनाउन थालेको हो ।
पाँच श्ययाको लागि रु आठ करोड, १० श्ययाका लागि रु ११ करोड र १५ श्ययाका लागि रु १८ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ । सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५० / ५० श्ययाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन रु ५६ करोडको व्यवस्था गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qdhpXf via IFTTT
काठमाडौँ। नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फर्किएका छन् । केहिबेर अघि उनी स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हो।
बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
जवाफमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो देशको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।
त्यसअघि चिनियाँ रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । त्यहाँ उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o3VIan via IFTTT
काठमाडौँ। सर्वोच्च अदालतले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त प्रमाणको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन ।’
आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सोही निवेदनमाथि सुनुवाई गर्दा निर्दोष नदेखिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश अदातले दिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36jF4xm via IFTTT
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गरेकी छन् । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए। सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qf5lEO via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावको प्रतिउत्तर प्रस्तुत गरेका छन् । प्रतिवेदन सचिवालयका सदस्यलाई वितरण गर्नुपूर्व उनले बैठकमा ४ महत्वपूर्ण कुरा राखेका एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
१. बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव झूटको पुलिन्दा भएकाले बैठकमा छलफल गर्न नसकिने बताएका छन् । उनले बैठकमा भने, ‘प्रचण्ड कमरेडले प्रस्तुत गरेको प्रस्ताव राजनीतिक प्रस्ताव होइन, त्यो झूटको पुलिन्दा हो । संगीन आरोपसहित आएको झूटको पुलिन्दा बैठकमा छलफल गर्न र बैठकमा प्रवेश गर्न सक्दैन ।’
२. ओलीले आफूले बहुमतको निर्णय नमान्ने पनि बताएका छन् । उनले भने, ‘टाउका गनेर मान्छु भन्ने नसोचे पनि हुन्छ । बहुमत-अल्पमत गरेर निर्णय गर्ने र त्यसलाई मान्न सकिँदैन । यो विधि, पद्दतीको विरुद्ध हुन्छ ।’
३. प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्नेमा ओलीले जोड दिए । उनले बैठकमा भने, ‘लाल्छाना पत्र फिर्ता लिनुपर्छ । त्यसलाई फिर्ता लिएर माफी मागेपछिमात्रै पार्टी एकतामा जान सकिन्छ । नत्र पार्टी एकता हुँदैन ।’
४. ओलीले पार्टी एकता भंग गर्नका लागि प्रस्ताव गरे । उनले भने, ‘अब पार्टी एकता भंग गरौँ, पार्टी एकता भंग गरेर अब जेठ २ को अवस्थामा फर्कौँ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33rFujs via IFTTT
सप्तरी । सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ । बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ । पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकाे प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए ।
कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उहाँले जानकारी दिए । वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भने, “त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mhxIjn via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन्। पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताउनुभयो । रासससँग कुरा गर्दै नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख थापाले भने, “राजनीतिक आरोपबारे सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ ।” यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए। पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।
गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।
गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।
पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।
गत स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो । नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन् ।
स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस शुरु भएको हो ।
स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गत भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन (अपानि)–५ जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा पुनः कार्यविभाजनलगायत काम गर्ने, चुनावी घोषणापत्रानुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानूनी प्रबन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषद्मा पुनःगठन गर्ने आदि विषय उल्लेख गरेका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o0TYi2 via IFTTT
गुल्मी । गुल्मीको इस्मामा आज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
२ जना गम्भीर घाइते भएका छन् ।
इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिंदै थप विवरण आउन बाँकी रहेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mgCmyc via IFTTT
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै उपत्यकामा सक्रमितको संख्या १ लाख ६ हजार ३०२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ।
ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्। जसमा ९६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार २१४ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ७२६ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४८ जना निको भइसकेका छन्।
मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ७ हजार ६६४, ललितपुरम १ हजार ४९४ र भक्तपुरमा ५८९ जना संक्रमित रहेका छन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2V7H59y via IFTTT
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज राति भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा करिव ४५ मिनेट भेटका अवसरमा सभापति देउवाले दुई देशबीच उच्च राजनीतिक तहमा छलफल र सम्पर्क विस्तारलाई बढावा दिनुपर्ने बताएका थिए ।
उनले नेपाल भारतबीच सम्झौता भएका र कार्यान्वयन हुन नसकेका परियोजनामा ध्यान दिनुपर्ने बताए । त्यसैगरी देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतको नैतिक सहयोग रही रहेकोमा प्रशंसा गरेका थिए ।
भेटवार्तामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3q3jOUo via IFTTT
काठमाडाैं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा भएकाे भेटमा आपसी हितका बारेमा कुराकानी भएकाे बताइएकाे छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/369uoBc via IFTTT
नुवाकोट । नेकपा नुवाकाेटका नेता एंवम बागमती प्रदेश सांसद माननीय बद्री मैनाली बाट जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् ।
बागमती प्रदेश सरकारबाट आफनो सक्रियतामा बिनियाेजित बजेट रकमहरूबाट भईरहेका बिकास निमार्णका काम सम्बन्धित स्थलमा गईअनुगमन गरेका हुन्।
उनले लिखु गाउँपालिका मा रहेको खारे खहरे कल्भर्ट पुल,सुन्दरीटार युवा क्लब,सचेतना सामुदायिक महिला भवन,बेसारे जामुने सडक अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिएका छन् ।
विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद मैनाली बताए।सम्बन्धित स्थलमा गई अनुगमन गर्ने क्रममा,सासद मैनाली साथै लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडाध्यक्ष भिम बहादुर घले, वडासदस्यहरू शान्ती राई, माधब दुलाल, नेकपा नेता समाजसेवी प्रेम थापामंगर लगायतकाे उपस्थिति रहेको मा. मैनालीको स्वकीय सचिव दिपक कार्की ले जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33ldXjI via IFTTT
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सक्रमितमध्ये ३५० महिला र पुरुष ४८५ रहेका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६३५ , ललितपुरमा ११३ र भक्तपुरमा ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १५७ छ।
ललितपुरमा १२ हजार ६९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ६७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।
हालसम्म काठमाडौमा ७ हजार ६६०, ललितपुरम १ हजार ४९९ र भक्तपुरमा ५८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fyzMB0 via IFTTT
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्राप्त रकम जिल्लाका ३ सय जना न्यून आय भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदूरको कोरोना बीमामा खर्च गरेको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।
साथै, पर्यटनमन्त्री भट्टाईले आफ्नो तलब भत्ताबापत प्राप्त रकमबाट स्थायी ठेगाना ताप्लेजुङ भएका एक हजार २ सय ७६ जनाको कोरोना बीमा गरिदिएका छन् । यसरी मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा स्थायी ठेगाना भएका कूल एक हजार ५ सय ७६ जना व्यक्तिको कोरोना बीमा गरिएको उनको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m8HN2f via IFTTT
काठमाडौँ। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको प्रतिवेदन कार्यकर्तामा वितरण थालिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले सचिवालयमा पेश गरिएको प्रतिवेदन फिर्ता लिन भनिएपनि कार्यकर्तामा वितरण गर्न थालिएको बताए ।
प्रचण्ड समूहले तयार पारेको प्रतिवेदन पुस्तक बनाएर कार्यकर्तामाझ वितरण थालिएको एक नेताले बताए । उनले भने, ‘प्रतिवेदनको ३२ पृष्ठ लामो पुस्तक तयार पारिएको छ । सोही पुस्तक कार्यकर्तामा बाँड्न थालिएको छ ।’
प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएर पुस्तकका रुपमा तयार पारिएको ती नेताले बताए । उनले भने, ‘केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पुर्याउने काम हुनु दु:खद हो । यसले समस्या समाधान गर्नुको साटो थप समस्या थपिँदै जानेछ ।’
प्रधानमन्त्री ओली निकटका ती नेताले भने, ‘पार्टीको सचिवालयमा पेश भएको प्रतिवेदन उत्तिनै बेला मेचीदेखि महाकालीसम्मका सञ्चारमाध्यममा चुहाइएको थियो। अहिले पुस्तक प्रकाशन नै गरेर तल्लो तहका कार्यकर्तासम्म वितरण हुँदैछ । यो काम पार्टीको विवादलाई संस्थागत गर्ने उद्देश्यसहित आयो । यसबाट उहाँहरुले फूटको राजनीति गरेको प्रष्ट हुन्छ ।’
यता प्रचण्ड पक्षधर नेताहरुले भने यो आरोप सत्य नभएको बताएका छन् । एक नेताले खबरहबसँग भने, ‘पार्टीभित्र आपसी धेरै मतभेद छ । यसलाई सम्बादबाट मात्रै हल गर्न सकिन्छ भनेर हामीले बैठक आह्वान गरेका हौँ । बैठक बोलाइएको छ । अब त्यो बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रतिवेदनका आधारमा हामी अघि बढ्नेछौँ ।’
मंसिर १३ गते बस्ने बैठकमा अध्यक्ष ओलीको पनि प्रतिवेदन आउने अपेक्षा गरेको बताउँदै उनले त्यसपछि दुवै प्रतिवेदनमा बारेमा विस्तृत छलफल हुने बताए ।
उनले भने, ‘पार्टी फूटका विषयमा बाहिर आएको हल्लाजस्तो अवस्था छैन । नेताहरुबीच मतभिन्नता छ । त्यो बैठकहरु सञ्चालन हुन थालेपछि हल हुँदै जानेछन् । अहिले हामी पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भनेर लागेका छौँ ।’
प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेका थिए। नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ। बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गर्न थालिएको भन्दै ओली पक्ष भने आक्रोसित बनेको छ ।
१३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डको प्रतिवेदनको लिखित जवाफ दिने बताइएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nRX73F via IFTTT
रुपन्देही । संघीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताए । उनले भने, “कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।”
महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नाको विकल्प नभएको बताए । उनले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागिपर्ने उल्लेख गरे । पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउँदै उनले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पारे । मर्यादा बाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुनेछ भन्दै उनले पार्टी एकताको रक्षाका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गरे ।
पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताए । पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभई संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको बताए ।
अर्थमन्त्री पौडेलले सरकार देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको स्पष्ट पारे । “अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ”, उनले भने । मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदा पनि रुपन्देहीलाई कुनै असर नपर्ने स्पष्ट पार्दै सो ठाउँलाई अझै माथि उठाउन विकासका मुद्दालाई ओझेलमा पर्न नदिने सङ्कल्प व्यक्त गरे । उनले भने, “यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन । आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्दै लैजान्छौँ ।”
अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका पौडेलले मंगलबार उद्योगी व्यवसायीसँग बुटवलमा छलफल गरेका छन् । अर्थमन्त्री पौडेल बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनले तिनाउ–दानव कोरिडोर सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Jard3a via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित कानूनी उपचारको व्यवस्था गराउन सम्बद्ध पक्षलाई आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ‘महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा मंगलबार दिएको शुभकामना सन्देशमा कुनै पनि संस्कृति, भूगोल, समाज र अर्थतन्त्र महिला हिंसाबाट मुक्त हुन नसकेका सन्दर्भमा त्यस्ता सबै प्रकारका हिंसा अन्त्य गर्दै लैङ्गिक समानताको स्थापना गर्नु सम्पूर्ण विश्वको साझा दायित्व भएको जनाएकी छन् ।
नेपालको संविधानले हिंसामुक्त न्यायिक समाजको परिकल्पना गरेको उल्लेख गर्दै सन्देशमा नेपाल सरकार संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न लागिपरेका सन्दर्भमा समाजका सम्बद्ध सबै पक्ष थप सचेत र जागरुक हुँदै हिंसामुक्त समाज स्थापनार्थ अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।
“बोक्सी, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक कुरीति, कुप्रथा र अन्धविश्वासलाई कानूनले निषेध गरेको भए तापनि अझै धेरै दिदीबहिनी हिंसा, विभेद र अपमानका पीडाबाट गुज्रिनु परिरहेको छ । घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूलन गर्ने सरकारका प्रयास पूर्णरूपमा सफल बनाउन समाजका सबै पक्ष त्यत्तिकै सक्रिय हुनुपर्छ” , राष्ट्रपतिको सन्देशमा भनिएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्दछ । राज्यका सबै तह तथा संरचनामा लैङ्गिक मूल प्रवाहीकरण गरी लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई संस्थागत गर्न आवश्यक छ ।”
उनले कोभिड–१९ को महामारीले बालबालिका, किशोरी तथा महिलाको जीवनलाई थप कष्टकर बनाएकाले संघीय, प्रदेश र स्थानीय सरकारले रोकथाम नियन्त्रण र उपचारका लागि आवश्यक नीति, योजना, कार्यक्रम र बजेटको व्यवस्थापन गरी आआफ्ना तर्फबाट भरमग्दूर प्रयास गर्नुपर्नेमा पनि जोड दिएकी छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nTOFB4 via IFTTT
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ । आज बसेको सिसिएमसी बैठकले अब प्रमुख जिल्ला अधिकारीले अवस्था हेरेर लकडाउन गर्न सक्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रण तथा रोकथामको विषयमा उपत्यका मेयर फोरमले माग गरे अनुसार लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय सिसिएमसीले गरेको उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
संक्रमणको जोखिम हेरेर अब जिल्ला प्रशासन कार्यालयले लकडाउनको मोडालिटी बनाउने श्रेष्ठको भनाइ छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि एक पटक छोटो समयका लागि उपत्यकाका जनप्रतिनिधिले लकडाउनको माग गरेका छन् ।
कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाले त्यसलगत्तै अवस्था हेरेर काठमाडौं उपत्यकामा फेरि लकडाउन गर्ने तयारी गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37l7qXx via IFTTT
ताप्लेजुङ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।
वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै प्रधानमन्त्री ओलीले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।
फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए ।
“हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो”, प्रधानमन्त्री ओलीले भने ।
अर्को प्रसङ्गमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।
उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी तीन वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै हालसम्म कञ्चनजङ्घामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो ।
सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिने भएकी छन् । उनले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी छन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता सुवास नेम्बाङलगायतको सहभागिता थियो ।
घुन्सावासीमा उत्साह
कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन् ।
कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत् र इन्टरनेटको सेवासुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् ।
यस्तै घुन्सा नमूना गाउँ बन्नेमा समेत उनीहरु विश्वस्त देखिएका छन् । “हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्रीलगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौँ, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोनसहित इन्टरनेटको समस्या समाधान हुन्छ होला”, स्थानीयवासी हिमाली चुङ्दाकले भने ।
विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्याउनुपरेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नुपरेको जस्ता पीडा स्मरण गर्दै चुङ्दाकले घुन्सावासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको बताए । यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधिसमेत बढेर जानेमा यहाँका बासिन्दा ढुक्क बनेका छन् ।
प्रधानमन्त्रीसँग घुन्सावासीका माग
घुन्सालाई नमूना गाउँका रुपमा विकास गर्न यहाँका बासिन्दाले माग गरेका छन् । स्थानीयवासीले प्रधानमन्त्रीसमक्ष मागपत्र पेश गर्दै पर्यटन प्रवद्र्धनका लागि विशेष अनुमति खारेज गर्नुपर्ने, कञ्चनजङ्घा पदमार्गको स्तरोन्नति गर्नुपर्ने, घुन्सा लघु जलविद्युत्को क्षमता वृद्धि गरी खम्बाचेन, ग्याब्ला र अम्जिलासालगायत गाउँमा विद्युतीकरण विस्तार गर्नुपर्ने जस्ता आग्रह गरेका हुन् ।
यस्तै यस क्षेत्रको पहिलो बस्ती खम्बाचेतको नापी छुट भएका जग्गाको पुरानो प्रमाणपत्रका आधारमा नापी गरी लालपुर्जा उपलब्ध गराउन र यहाँका स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी उपलब्ध गराइदिनसमेत स्थानीयवासीले अनुरोध गरेका छन् ।
घुन्सामा २०७१ सालमा नै सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको थियो । आफ्नै भवन नहुँदा समस्यामा परेको स्वास्थ्य एकाइले दुई वर्षअघि मात्र भवन पायो । घुन्सा फाउण्डेशनको पहलमा भवन स्थापना भएको हो । पर्याप्त स्वास्थ्यकर्मी नहुँदा जटिल समस्याका बिरामी अन्यत्रै जानुपर्ने बाध्यता छ ।
सदरमुकाम फुङ्लिङबाट सवारी साधन र पैदल गरी दुई दिनका समयमा मात्र पुगिने घुन्सामा पर्याप्त स्वास्थ्यकर्मी भए स्थानीयवासीलाई मात्रै नभई देशविदेशबाट आउने पर्यटकलाई समेत फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ । यस्तै पर्यटन प्रवद्र्धनका निमित्त आवश्यक पूर्वाधारलगायतको विकासमा ध्यान दिनसके पर्यटकको आगमनमा वृद्धि हुँदै जाने र त्यसले समग्र घुन्सावासीलाई मात्रै नभई मुलुकलाई नै फाइदा पुग्ने स्थानीयवासीको विश्वास छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pVEUUI via IFTTT
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक हप्तामा ३ जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । यसले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ । मंसिर १ गते त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष एवं वरिष्ठ बाल शल्य चिकित्सक डा.नारायणबहादुर थापाको मृत्यु भएको थियो ।
त्यस्तै दुई दिनअघि कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी तीनैजना वरिष्ठ चिकित्सकको मृत्युको मुख्य कारण कोरोना भाइरसको संक्रमण हो । तीनैजना डाक्टरले नेपालको चिकित्सा क्षेत्रमा ठूलो योगदान पुर्याएका थिए ।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने डाक्टरमा चारैजना वरिष्ठ चिकित्सक छन् । यसअघि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत डा. हरि सापकोटाको मृत्यु भएको थियो । बाँकेको खजुरा स्थायी घर भएका उनको कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा असोज १५ गते निधन भएको थियो ।
तीनैजना डाक्टरको चिकित्सा क्षेत्रमा फरक पहिचान
वरिष्ठ डा.ध्रुव शर्मा मुडभरी झण्डै ८० वर्षका थिए । शाही शल्यचिकित्सक रहेका उनले नेपालको अस्पताल व्यवस्थापनको क्षेत्रमा आफूलाई सफल सावित पनि गरेका थिए । ओम अस्पतालका संस्थापकसमेत रहेका मुडभरी दरबारका शाही सर्जन थिए ।
वीर अस्पतालको नेतृत्वदायी भूमिकामा रहेका उनी नेपालको शल्यचिकित्सा क्षेत्रमा ठूलो योगदान गरेका चिकित्सक थिए । उनले भारतबाट एमबिबिएस, एमएस गरेका थिए । शनिबार उपचारका क्रममा शर्माको ओम अस्पतालमा मृत्यु भएको थियो ।
बाल शल्य चिकित्सा क्षेत्रका अर्का वरिष्ठ चिकित्सक डा.नारायणबहादुर थापाको पनि कोरोना संक्रमणबाट मृत्यु भयो । डा.थापा नेपालमा बाल शल्य चिकित्सा सेवा सुरु गर्नेमध्येका एक हुन् । बेलायतमा अध्ययन गरेर पेडियाट्रिक सर्जरीको क्षेत्रमा १० वर्ष काम गरेर नेपाल फर्किएपछि उनले वीर अस्पतालमा बाल शल्य चिकित्सा सेवा सुरु गरेका थिए ।
कान्ति बाल अस्पतालमा पेडियाट्रिक विभाग स्थापनाका लागि पनि उनको ठूलो योगदान रहेको थियो । कोरोना संक्रमणबाट झण्डै ८० वर्षको उमेरमा उनको नेपाल मेडिसिटी अस्पताल ललितपुरमा मृत्यु भएको थियो । भारतबाट एमबिबिएस गरेका उनी बेलायतमा पेडियाट्रिक सर्जरी अध्ययन गरेर नेपाल फर्किएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत वरिष्ठ प्रा.डा.सुनील झाको पनि कोरोना संक्रमणबाट निधन भयो । उनी अब्बल मुटुरोग विशेषज्ञ र असल प्राध्यपक हुन् । उनले अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स)बाट एमडी गरेका थिए।
३० वर्षसम्म त्रिवि शिक्षण अस्पतालमा काम गरेका उनले नेपालमा मुटुरोगको डिएम कार्डियोलोजी प्रोग्राम सुरुवात महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्डियोलोजिस्ट सोसाइटी अफ नेपालको अध्यक्ष भइसकेका उनको ६१ वर्षको उमेरमा कोरोना संक्रमणबाट मंसिर १ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2J6yKQw via IFTTT
काठमाडौं । कोरोना परीक्षण गर्दै आएका चार निजी ल्याबलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्यबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टिकरण सोधिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका नमुना एक महिनासम्म र पोजेटिभ आएका नमूना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नभएको भन्दै ती ल्याबहरुलाई स्पष्टीकरण सोधिएको हो ।
विदेशबाट हवाई मार्ग तथा स्थलगत मार्गबाट नेपाल आउने यात्रुलाई यसभन्दा अघि भएका परीक्षण तथा क्वारेन्टाइनका सम्बन्धमा भएका सबै प्रावधानलाई खारेज गरिएको छ।
अब विदेशबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइन बस्न व्यवस्था गर्न र त्यस अवधिमा कोरोना लक्षण तथा चिन्ह देखिएमा मात्र परीक्षण गर्ने गराउने कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्रचार गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nNfO8K via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार अर्थपूर्ण भेटवार्ता गरेका छन् ।
बालुवाटारमा दिउँसो ३ बजेदेखि बेलुकी ६:१० बजेसम्म गरेको भेटवार्तामा नेकपाभित्रको विवाद, त्यसले निम्ताउने समस्या र आउँदो रणनीतिका विषयमा छलफल भएको देउवा निकट नेताहरुले बताएका छन् । तर, देउवाका स्वकीय सचिव भानु देउवाले विश्वविद्यालयका पदाधिकारी नियुक्तिका विषयमा मात्रै छलफल भएको बताएका छन् ।
देउवालाई चुनावी सरकारको नेतृत्व
ओली र देउवाबीच लामो भेटवार्तापछि नेकपाका शीर्ष नेताहरुले पनि देउवासँग कुराकानी गरेका छन् । प्रचण्ड नेपाल निकट एक नेताले देउवासँग अोलीले सत्ता सहकार्यका विषयमा छलफल गरेका बताएका छन् । नागरिकखबरसँग उनले भने, ‘देउवालाई चुनावी सरकारको नेतृत्व दिन र अहिले नेकपा विभाजन गर्न सहयोग गरेमा सरकारमा कांग्रेसको सहभागिताको कुरा गरिएको कुरा देउवाले भन्नु भएको कुरा आएको छ । उहाँ निकट नेताहरुले पनि त्यहीँ कुरा गर्नु भएको छ ।’
देउवा निकट एक नेताले पनि भेटवार्तामा प्रचण्डले आफूमाथि लगाएको आरोप स्वीकार नगर्ने र बरु नयाँ तरिकाले पार्टीलाई एक्लै बढाउने बताएका जानकारी दिएका छन् । ओलीले देउवासँग भने, ‘आउँदो सचिवालय बैठकसम्म कुनै एकजनाले साथ दियो भनेमात्र प्रस्ताव पास हुँदैन । अघि बढ्यो भने म प्रधानमन्त्रीबाट पनि हट्नुपर्छ । कांग्रेसले साथ दियो भने म सरकारमा रहिरहन सक्छु । त्यसका लागि मैले के के गर्नुपर्छ गर्छु ।’
देउवाले चुनावी सरकारको नेतृत्वको अफर आएको कुरा उनी निकट नेताहरुलाई बताएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपालसहितका नेतासँग पनि कांग्रेस नेताहरुले ओलीले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको जानकारी गराएका स्रोतको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m8Ostn via IFTTT
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।
चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएकाे हाे ।
यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्ट हुनुभएको छ । सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pPgxYL via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको मृत्यु भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो । संक्रमणपछि ओम अस्पतालमा उपचारका क्रममा आज डा.शर्माको मृत्यु भएको थियो ।
ओम अस्पतालका सञ्चालकसमेत रहेका डा. शर्मा नेपालका वरिष्ठ सर्जन थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pNwf6B via IFTTT
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटाँैडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयको कोभिड–१९ का प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार कूल सङ्क्रमितमध्ये ९८ हजार ५५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रदेशमा कोरोना सङ्क्रमणबाट निको हुने दर ८४ प्रतिशत रहेको उहाँको भनाइ छ ।
प्रवक्ता डा सेढाईंका अनुसार मुलुकका कूल कोरोना सङ्क्रमितमध्ये वाग्मती प्रदेशमा ५० प्रतिशत छ । कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहन सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ छ । यसैबीच हेटौँडा उपमहानगरपालिका–५ की ६४ वर्षीया एक महिलाको कोरोना सङ्क्रमणबाट आज आफ्नै घरमा मृत्यु भएको छ । उनलाई गत कात्तिक १८ गते कोरोना पृष्टि भएको थियो । शव व्यवस्थापन नेपाली सेनाले गर्ने निजको परिवारले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36NLx2s via IFTTT
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार यही सात गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको छ । जसअनुसार प्रहरी प्रधान कार्यालय अप राध अनुसन्धान विभाग अप राध नियन्त्रण महाशाखाका एसएसपी अशोक सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा सरुवा गरिएको छ । उक्त स्थानमा परिसरका प्रमुख श्यामलाल ज्ञवालीलाई ल्याइएको छ ।
एसएसपी किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ । प्रहरी प्रवक्ता कुवेर कडायतलाई प्रहरी युक्ति तालिम महाविद्यालय नवलपसारी सरुवा गरिएको छ । त्यहाँ हाल कार्यरत बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।
प्रहरी प्रधान कार्यालय तालिम महाशाखाका जनक भट्टराईलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा गरिएको छ भने महाशाखा प्रमुख भीमप्रसाद ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखामा पठाइएको छ । ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य महाशाखा ल्याइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KoXwMt via IFTTT
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।
काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् ।
‘कोभिड–१९ कारण लकडाउनसँगै हामीले ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई कारबाही गर्ने अभियान स्थगन गरेका थियौँ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले भने, ‘लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्था छ । यस्तो बेलामा जथाभावी पार्किङ गर्दा अव्यवस्थित भई भिडभाड झन बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ हामीले आजबाट यो अभियान सुरु गरेका हौँ ।’
प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्नसक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताए ।
उनले काठमाडौ महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको समेत जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपती सापकोटाले आज मात्रै ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा पार्किङ गरेर राखिएका ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको जानकारी दिए । ‘हामीले आजबाट दुई ओटा टीम परिचालन गरेका छौँ,’ सापकोटाले भने, ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई हामीले उठाएर कारवाही सुरु गरेका छौँ । यो अभियान निरन्तर चल्छ ।’
उनीहरुलाई कागजपत्र हेरेर १ हजार जरिवना तिराउँदै आएको पनि उनले जानकारी दिए । ‘लकडाउनसँगै बन्द भएको अभियान आजबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा सुरुवात भएको भएको छ,’ सापकोटाले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kIKRk9 via IFTTT
काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गरिएको गृह मन्त्रालय, प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले जानकारी दिनुभयो
सङ्घीय संरचनानुसार प्रहरी समायोजनमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि गृहसचिवको नेतृत्वमा बनेको समितिले तयार पारेको सङ्गठनात्मक स्वरुप निर्धारण प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत गर्ने क्रममा दरबन्दी थप भएको गौतमले जानकारी दिनुभयो । सोही प्रतिवेदनको एक अङ्गका रुपमा दरबन्दी रहेको थियो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै प्रहरी समायोजन र बढुवाको आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो । गत वर्ष नै प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भई कानूनको अङ्ग बनिसकेको छ । यद्यपि प्रहरी समायोजन प्रक्रिया शुरु हुन सकेको थिएन । प्रदेशमा प्रहरी समायोजन गर्दा प्रहरी उपरीक्षक र त्यसमाथिको प्रहरी कर्मचारी सङ्घअन्तरगत रहने कानूनी व्यवस्था छ ।
मेट्रोको नेतृत्व एआइजीले गर्ने
दरबन्दी थप भएसँगै महानगरीय प्रहरी कार्यालय (मेट्रो प्रहरी) को नेतृत्व एआइजीले गर्नुहुने छ । हाल यहाँ डिआइजी विश्वराज पोखरेलको नेतृत्व छ ।
प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० को नेतृत्व रहेको स्थान साइबर ब्युरो, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान निर्देशनालय, कार्य निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालयमा र प्रदेश समन्वय निर्देशनालयमा डिआइजीले नेतृत्व गर्ने प्रवक्ता कडायतले जानकारी दिए ।
हाल प्रहरीमा एक प्राविधिकसहित चार एआइजी र प्राविधिकबाहेक १४ डिआइजी छन् । थपिएको दरबन्दीसहित एआइजी पाँच र प्रशासनतर्फ डिआइजीको दरबन्दी १९ पुगेको छ ।
प्राविधिकतर्फ आठ डिआइजीको दरबन्दी छ । तीन डिआइजीको दरबन्दी अहिले पनि खाली छ । थपिएको एक एआइजी र खालीसहित आठ डिआइजीको बढुवा प्रक्रिया अब शुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KsSLBP via IFTTT
काठमाडाैं । नेपाल रग्बी सङ्घलाई विश्व रग्बी महासङ्घले सदस्यता प्रदान गरेको छ । विश्व रग्बी महासङ्घको बुधबार सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए ।
नेपालमा सन् २०१२ मा रग्बी सङ्घ स्थापना भएको हो । सङ्घ स्थापनाको ६ वर्षपछि नेपाललाई सन् २०१८ मा एशिया रग्बी महासङ्घले पूरक सदस्यता प्रदान गरेको थियो । नेपाल रग्बी सङ्घका अध्यक्ष घिसिङले विश्व रग्बी महासङ्घको सदस्यता पाउनु नेपालले रग्बी खेलको विकासका लागि गरेको मेहनतको फल भएको बताए ।
अध्यक्ष घिसिङले विज्ञप्ति जारी गर्दै विश्व रग्बी महासङ्घले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल तयार रहेको बताए। एशिया रग्बी महासङ्घको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरिएको हो । गत भदौमा एशिया रग्बी महासङ्घले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासङ्घलाई पत्राचार गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35MtxGt via IFTTT
काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायतासम्बन्धी सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।
अर्थ मन्त्रालयमा बुधबार हस्ताक्षरपछि जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब) बराबरको नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनीतिक शहरी समूहमा अवस्थित ३३ नगरपालिकालाई सहयोग गर्नेछ । यसमा पूर्वी तराई क्षेत्र (प्रदेश नम्बर १ र २) र पश्चिमी क्षेत्र (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) का नगरपालिका पर्छन् ।
आयोजनाले कार्यक्षेत्रअन्तर्गतका नगरपालिका र त्यहाँ बसोबास गर्ने नागरिकको प्राथमिकतामा आधारमा लक्षित शहरका रणनीतिक पूर्वाधारमा नेपालमा पहिलो पटक अनुदान स्रोतको सुनिश्चिततासहित आर्थिक सहयोग पुर्याउने छ । साथै साना खालका श्रमकेन्द्रित सार्वजनिक निर्माण कार्यलगायतमा आर्थिक सहयोग पुर्याइनेछ ।
अर्थ सचिव ढुङ्गानाले आयोजनाले नेपालमा संघीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुर्याउने बताए ।
यसैगरी नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका उपकरणमा विविधता ल्याउन र वित्तीय सेवाको पहुँचमा वृद्धि गर्नका लागि नेपाल सरकारले अङ्गीकार गरेका विभिन्न सुधारका प्रयास र व्यक्त गरेका प्रतिबद्धताको सराहना गर्दै विश्व बैंकले २० करोड अमेरिकी डलर (करिब रु २४ अर्ब) बराबरको ‘आर्थिक वृद्धिका लागि वित्त’ नीति विकास सहायतामार्फत बजेटरी सहयोग प्रदान गरेको हो ।
आयोजनाले महामारीको प्रभावका सन्दर्भमा बैंकिङ र वित्तीय संस्थाले सामना गर्नुपर्ने जोखिमको उचित सुपरीवेक्षणमा सहयोग पुर्याउनेछ । यसले निजी क्षेत्रमा जाने पूँजी प्रवाहमा अभिवृद्धि गर्दै लगानीका नयाँ अवसर उपलब्ध गराउन सहयोग पर्याउने विज्ञप्तिमा उल्लेख छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले राहत, पुनरुत्थान र उत्थानशील योजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा सहयोग पुर्याउँदै तत्कालका आवश्यकताका साथसाथै दीर्घकालीन उद्देश्य प्राप्त गर्न र महामारीपछि पहिलेभन्दा सबल र उत्तम पुनर्निर्माणका अवसर सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिबद्ध भएको बताए ।
उनले भने,“नयाँ आयोजनामार्फत हामी संघीयता कार्यान्वयन प्रक्रियाको एक हिस्साका रूपमा प्रभावकारी सेवा प्रवाहका लागि संस्थाहरूलाई सुदृढ पार्न र आर्थिक पुनरुत्थानलाई बढावा दिँदै उत्थानशील वित्तीय क्षेत्रको निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्न उत्साहित छौँ ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pINFS3 via IFTTT
काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
कोरोना भाइरसबाट संक्रमित सांसद विश्वकर्माको पहिले वीर अस्पतालमा उपचार भएकाे थियाे । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई ग्रान्डी अस्पताल लगिएकाे थियाे । ग्रान्डी अस्पतालमा उनलाई ६ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
विश्वकर्माको उपचारमा सहयोग गर्न काँग्रेसले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण पनि गराएको थियो । कात्तिक २४ गतेबाट विश्वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lKUArh via IFTTT
देउखुरी । कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन् ।
आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन् । महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन् । स्थायी घर अर्घाखाँची रहेका दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान गइन् । घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उनले सुनाइन् । नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्किएका मगरले घोराहीको भरतपुरमा रु १० लाख ५० हजार लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सञ्चालनमा ल्याएकी छन् । ‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भनिन्, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो । त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ । कपडा बिक्रीबाट मासिक रु ९० हजार आम्दानी हुने गरेको छ ।”
मल्लरानी गाउँपालिका –३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि रु २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ । केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी दिएका छन् । उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र विद्यार्थीको पोशाक सिलाउने गरिएको र थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताइन् ।
बंगलाचुली–४की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बनेकी छन् । पिठो, चामल, दाल र मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ । सदरमुकाम बसाइँ सरेर व्यवसाय सुरु गरेको एक वर्ष भएको छ । रु २० लाख लागतमा सुरु गरिएको व्यवसायबाट उनले आम्दानी लिन सुरु गरिसकेकी छन् । “यति नै आम्दानी हुन्छ भन्न सकिन्न”, पाण्डेले भनिन्, “कुनै महिना राम्रो आम्दानी हुन्छ त कुनै महिना कम, औसतमा मासिक रु ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।” उनलाई व्यवसायमा श्रीमान् रुद्रप्रसादले सहयोग गर्दै आइरहेका छन् ।
घोराही– १५ निवासी माधवी डिसीलाई सिलाइकटाइले आत्मनिर्भर हुने अवसर मिलेको छ । कपडा सिलाउने काम गर्दा समय पनि सदुपयोग हुनाका साथै आम्दानीको गतिलो आधार भएको छ । विसं २०६९ मा सरकारले ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय सहकारीबाट रु एक लाख ऋण लिई दुई सिलाइ यन्त्र खरीद गरेर सुरु गरेको व्यवसायमा अहिले सात यन्त्र छन् । मासिक रु ७० हजारसम्म आम्दानी गरिँदै आएको र व्यवसायबाटै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र अन्य काम गर्नलाई सजिलो भएको उनी बताउँछिन् ।
घोराही –२ रामपुरकी पुष्पा पोख्रेलले सहकारी र महिला समूहबाट रु तीन लाख कर्जा लिई पाँच वर्षदेखि ‘पोख्रेल गाई फर्म’ सञ्चालनमा ल्याएकी छन् । घाँसखेतीका लागि छ कट्ठा जमीन वार्षिक रु २० हजार भाडामा लिई सञ्चालनमा ल्याएको फर्ममा अहिले जर्सी जातका ६ गाई छन् । दैनिक ६० लिटर दूध बिक्रीबाट मासिक रु ६० हजार आम्दानी गर्दै आएको उनी बताउँछिन् ।
घरेलु तथा साना उद्योग कार्यालय दाङमा पछिल्लो समयमा महिला उद्यमीको आकर्षण बढेको र साना तथा घरेलु र मझौला उद्योग महिलाका नाममा खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षमा कृषि तथा वनजन्य ९४, सेवामूलक ३३ र उत्पादनमूलक २१ उद्योग दर्ता भएको बताए । लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lHouwK via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले मंसिर ३ गते तोकेको सचिवालयको बैठक नबस्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले सुझाव दिन थालेका छन् ।
कार्तिक २८ गते शुक्रवार बसेको सचिवालयमा बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनैतिक प्रस्तावमा छलफलका लागि अध्ययन गर्न एक हप्ताको समय दिइएको थियो । बैठक लगत्तै बैठकमा पेश भएको प्रतिवेदन सञ्चार माध्यममा छताछुल्ल भएपछि प्रधानमन्त्री ओलीसहित उनी पक्षधर नेताहरुले प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखेका थिए ।
बुधवार बैठक राख्दा विवाद झन् बढ्ने बताउँदै ओली पक्षका नेताहरुले केही दिन बैठक राख्न भनेका हुन् । त्यसका लागि महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ खटिएका छन् ।
उनीहरुले एकता भत्कन नदिन पहल गर्न आग्रह र सुझाव दुबै दिँदै आएको बताइएको छ । त्यसो त बैठकको मिति सार्नुपर्ने भए सचिवालयले तोकेको बैठक बसी आगामी मितिबारे छलफल गर्न सकिने पनि एकथरी नेताहरुको तर्क रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38Q7d0z via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउने प्रयास थालेकी छन् । विवाद उत्कर्षमा पुगेसँगै शीतल निवासबाटै भण्डारीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा निरन्तर क्रियाशीलता देखाएकी छन् ।
मंगलबार बेलुकी पनि राष्ट्रपति भण्डारीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शीतल निवास बोलाएर सहमतिका लागि दबाब दिएकी छन् । राष्ट्रपतिले बोलाएपछि ६ बजे शीतल निवास प्रवेश गरेका प्रचण्ड ७:३५ बजे बाहिरिएका थिए ।
भेटवार्ताका क्रममा भण्डारीले पार्टी विभाजनको अवस्थामा पुगेकाले ओलीसँग मिलेर जान प्रचण्डलाई सुझाव दिएकी छन् । भेटवार्ताका क्रममा प्रचण्डलाई चुनावी सरकारको नेतृत्व गर्नेगरी सहमतिका लागि राष्ट्रपति भण्डारीले आग्रह गरेकी खुमलटार निकट स्रोतले जनाएको छ ।
अहिले लिखित सहमति गर्ने, महाविधेशनबाट एकल अध्यक्ष बन्ने र अर्को वर्षदेखि चुनावी सरकारको नेतृत्व लिनका लागि प्रचण्डलाई भण्डारीले प्रस्ताव गरेकी छन् । तर, प्रचण्डले भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र उनको टिमको अहंकार तथा दम्भका कारण यस्तो अवस्था आएको बताएका थिए ।
प्रधानमन्त्री ओली र उनी निकट नेतासँग पटक पटक भेटवार्ता गरेकी भण्डारीले उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’सँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f9VU4L via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा भित्रको अहिलेको बहस कुर्सीका लागि नभएको प्रष्ट पारेका छन् । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधनको दोश्रो स्मृति दिवसका सन्दर्भमा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालले आइतवार साँझ गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले कोभिड–१९ को महामारीले देशको स्थिति खराब भएको बताए ।
आफूले नियन्त्रण तथा रोकथमाका लागि राष्ट्रिय संरचना बन्नुपर्यो र केन्द्रमा प्रधानमन्त्रीकै नेतृत्वमा र तल्लो तहसम्म संचरना बन्नुपर्यो भन्ने प्रस्ताव गरेको बताए उनले भने, ‘तर, दुर्भाग्य सरकारले गम्भीर रुपले लिएन । व्यंग्य गर्ने तरिकाले लिइएकोले अहिले जनताको अवस्था बेहाल भएको छ ।’
विभिन्न जाति, समुदाय, भाषा वा पहिचान भनेपछि एकाथरि मानिसहरुले सुन्नै नचाहने अवस्था हरेक राजनीतिक दल र सरकारमा समेत विद्यमान रहेको स्वीकार गर्दै अध्यक्ष प्रचण्डले यो अवस्थाको अन्त्य गर्नका लागि आफू जीवनपर्यन्त लागिरहने बताए ।
अध्यक्ष प्रचण्डले सबै पार्टी र नेताहरुलाई एउटै हो भनि हेरियो भने गलत हुने तर्क गर्दै भने, ‘मेरो तपाईहरुको भावना र पहिचानको आन्दोलनसँग लगाव रहिरहन्छ । मेरो लगाव मधेश, आदिवासी जनजाती, उत्पीडित समुदायसँग राजनीतिक नेतृत्वको हिसावले निकट सम्बन्ध रहन्छ नै ।’
अध्यक्ष प्रचण्डले मानवअधिकारवादी नेता तुलाधरलाई आफूले अविभावकका रुपमा लिएको स्मरण गरे । ‘प्रधानमन्त्री बन् भन्दा नबन्ने मान्छे नेतृत्वका लागि मरिहत्य हुन्छ ? चुनावपछि सुरुमै ५ वर्षका लागि मलाईलाई प्रस्ताव गरे पनि पार्टी एकता र जनताको जनमतको कदर गर्दै उक्त प्रस्ताव स्वीकार गरिनँ,’ उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32KhMPa via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित सचिवालयका ६ जनासँग बालुवाटारमा छुट्टै छलफल गरेका छन् ।
वरिष्ठ नेता नेपालसँग छलफल गर्दैगर्दा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ पुगेका थिए ।
वरिष्ठ नेता नेपालले आफू निकट एक स्थायी कमिटी सदस्यलाई भने अनुसार ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाली गरेर संवादको सुरुवात गरेका थिए ।
आफूलाई मिल्नका लागि आग्रह गर्दा पनि पटक पटक प्रचण्डलाई गाली गरेपछि वरिष्ठ नेता नेपालले अब फेरि जुधाउने कुरा सम्भव नभएको बताएका थिए । उनले ओलीसँग भने, ‘अब प्रचण्डजीलाई गाली गरेर होइन, विधि तथा प्रक्रियाबाट जानुपर्छ । सुरुमा प्रचण्डसँग मिलेर हामीलाई पेल्ने तपाईँले अहिले प्रचण्डको गुनासो गर्ने ? अब फेरि जुधाउने कुरा सम्भव छैन । विधि र प्रक्रिया अनुसार तपाईँ चल्नुपर्छ,सच्चिनुपर्छ ।’
नेपालसँग छलफल गरिसक्ने बेलामा सचिवालयका अन्य नेताहरुसँग उपाध्यक्ष बामदेव गौतम पनि त्यहाँ पुगेका थिए । प्रचण्डले बिगारे भनेर गाली गरेको सुनेपछि उपाध्यक्ष गौतमले कडा शब्दमा प्रतिवाद गरे । उनले ओलीलाई भने, ‘बिगार्ने तपाईँ हो । तपाईँको भुलभुलैयामा अब कोही पर्नेवाला छैन । म यहाँ धेरैबेर बसेँ भने कुटाकुट पर्छ । म हिँडे ।’
आफ्नो कुरा राखेर गौतम बालुवाटारबाट बाहिरिएका थिए । वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा लागेका ओली यो पटक साच्चै अप्ठयारो अवस्थामा पुगेका छन् । छलफलमा सहभागी एक नेताले ‘अरु रैती, आफू राजा’ जस्तो ओलीको कार्यशैलीकै कारण नेकपामा समस्या निम्तिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kqWuMo via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।
नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको छ भने ।
प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् । उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गरेका छन् । ‘एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।’
शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।
नेपाल सम्वत्को यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nrv76Q via IFTTT
काठमाडौं। मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आईसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा गरी हालसम्म ४७४ जनाकाे उपचार भइरहेको छ ।जसमध्ये आईसीयुमा ३८७ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ।
मन्त्रालयको तथ्यांक अनुसार बागमती प्रदेशमा १ सय ६८ आईसीयु, भेन्टिलेटरमा ६१ र होम आइसोलेसनमा १८ हजार ७ सय ४३ छन्।
लुम्बिनी प्रदेशमा होम आइसोलेसनमा २ हजार २ सय ३७ जना छन्। आईसीयुमा ७१ र भेन्टिलेटरमा १ जना छन्।
प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ३२, आईसीयुमा ४९ र भेन्टिलेटरमा १२ संक्रमित छन्।
गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ८ सय १६, आईसीयुमा ६९ र भेन्टिलेटरमा ११ जना छन्।
प्रदेश २ मा १४ संक्रमित आईसीयुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्। होम आइसोलेसनमा ८ सय ९७ संक्रमित छन्।
कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या २ सय ८५ पुगेको छ। आईसीयुमा ११ जना उपचाररत छन्।
त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या १ हजार ३९ र आईसीयुमा ५ जना संक्रमित उपचाररत छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UqkVPt via IFTTT
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा बढी देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७ जनामा कोरोना संक्रमण भएको छ ।
काठमाडौंमा ९ सय १९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा २ हजार १ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ हजार ५ सय ३७ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय ११ जनासहित देशभर संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ जना पुगेको छ । संक्रमितमध्ये जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2IyJLdd via IFTTT
काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ४९ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय १३ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । संक्रमितमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ हजार १ सय ८९ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eSq1xn via IFTTT
काठमाडौँ। सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा पूजाको दिन मंसिर २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । किजा पूजा भाइटीकाको भोलिपल्ट हो ।
‘मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
किजा पूजा नेवार समुदायमा प्रचलनमा रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pjriCk via IFTTT
बाँके। चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ ।
प्रहरीले अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पीसीआरको सिफारिस गरिदिन्थे ।
उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।
पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32x8Ex2 via IFTTT
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध परेको रिट खारेज भएपछि सबैमा आभार प्रकट गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले आफूप्रति शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैमा आभार प्रकट गरेका हुन् ।
गौतमले भनेका छन्, ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।’
उनले यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको नभई पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भएका कारण यस्तो भएको बताएका छन् । ‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु,’ गौतमले सङ्कल्प गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Iu4HCh via IFTTT
काठमाडौं। एकातर्फ विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिमको खतरा रहेको छ भने अर्का तर्फ जनताको विकास प्रतिका तिव्र चाहना पुरा गर्नु वर्तमान जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी रहेको छ ।
सोही अनुसार कोरोनाको कहरका बीचम पनि बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का भैरहेका विकास निर्माण लगायतका योजनाहरुको अनुगमन गरेका छन् ।
बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की ,वडा अध्यक्ष राजु अधिकारी , राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना,वडा सदस्य बिनोद तामांग,वडा सदस्य बिमल तामाङ सहित कर्मचारीहरुको उपस्थितिमा अनुगमन गरिएको थियो ।
प्रदेस सभा सदस्य कार्कीले भने कोरोनाको कहरकाबीच पनि विकास र सामाजिक क्षेत्रमा अहोरात्र खटिरहेको छु । जस्तोसुकै परिस्थिती आए पनि आफ्नो क्षेत्रको समृद्धिको यात्रालाई निरन्तरता दिन्छु ।’
यसै क्रममा प्रदेस सभा सदस्य कार्कीसहितको टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को कृष्ण मन्दिर देखि जगडोल सम्मको ८ मिटर विस्तार र स्तरोन्नतिको लागि भैरहेको कामको स्थलगत अनुगमन गरेको छ । बङ्गलामुखी हाइट कोलनी , बङ्गलामुखी मन्दिर ,फुलबारी जगडाेल जाने बाटो लगायतको अनुगमनको साथै टोल टोलमा भैरहेको बाटो ढलान र पिच कालोपत्रेको समेत स्थलगत अनुगमन गरिएको थियो । कार्कीले अनुगमनका क्रममा देखिएका गल्ती तथा कमजोरिलाई सुधारेर अघि बढ्न समेत जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । स्थलगत अनुगमनको क्रममा कार्कीले बिकास निर्माणमा माथिल्लो निकायबाट गर्नुपर्ने बजेट तथा अन्य प्रबन्ध आफूले मिलाउने बताउँदै आवश्यक प्रक्रिया पुर्याएर अगाडि बढ्न र जनताको हित र माग अनुसारका योजना तय गर्न वडा अध्यक्ष राजु अधिकारी सहित जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
अनुगमन बङ्गलामुखी हाइट कोलनी , बङ्गलामुखी मन्दिर ,फुलबारी जगडाेल जाने बाटो लगायतको अनुगमन गर्दै ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lf0Nvr via IFTTT
काठमाडौँ। गृह मन्त्रालयले अवैध रुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले त्यस्ता उद्योग तत्काल बन्द गर्न र कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो।
बैठकले हाल कार्यान्वयनमा रहेको ढुंगा, गिटी बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ परिमार्जन गर्ने निर्णय समेत गरेको छ। परिमार्जनको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ। जसको समयसीमा १५ दिन तोकिएको छ।
बैठकले देशभरका सञ्चालित क्रसरको दायित्व, कानुनी हैसियत, राजस्व र रोयल्टीको अवस्थालगायतका विवरण संकलन गरी पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
यस्तै, राष्ट्रिय गौरवका आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना प्रयोजनका लागि स्वीकृति लिएर क्रसर सञ्चालनमा रहे वा नरहेको विवरण पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।
यस्तो छ गृहमन्त्रालयको निर्णय
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35kbiIl via IFTTT
काठमाडौं । अबका दुई साताभित्र बंगलादेशबाट रासायिनिक मल आउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गरेर ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै मल खरिदको प्रक्रिया सुरु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसी सरकारको निर्णयअनुसार समझदारीपत्र बङ्गलादेश सरकारलाई पठाएपछि उताबाट स्वीकृति आएलगत्तै खरिद प्रक्रिया सुरु हुने बताउँछन् । उनले भने, ‘दुई देशका सरकारबीचको खरिद प्रक्रिया भएका कारण मलको पैसा सिधै सरकारको खातामा जान्छ । मल ढुवानीको सबै प्रक्रिया यसअघि नै टुङ्गिसकेको छ ।’
उनका अनुसार नेपाल सरकारले जस्तै बङ्गलादेश सरकारबाट नेपाललाई मल दिने विषयमा निर्णय हुनुपर्ने र उताबाट निर्णय भएर सहमतिपत्रमा हस्ताक्षरसँगै मल आउँने उनको तर्क छ ।
सरकारले जिटुजीमार्फत रासायनिक मल खरिदको निर्णय गरेसँगै मन्त्रालयले बङ्गलादेश सरकारलाई समझदारी पत्र पठाउने तयारी भएको जनाएको हो । उनका अनुसार सबै प्रक्रिया पूरा गरेर अबको दुई सातामा पहिलो किस्ताको मल नेपाल आइपुग्ने अनुमान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ढुवानीका लागि कृषि सामग्री कम्पनीलाई यसअघि नै स्वीकृति दिइपछि कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ljShLv via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमुल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार राष्ट्रपति भवन शीतल निवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन् ।
आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्न आग्रह गरिन् ।
बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाहसुझाव लिई अघि बढ्न उनले सरकारलाई सल्लाह दिँदै पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई सुझाव दिइन् । गरिबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गर्दै उनले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताउँदै न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरिबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराइन् । उनले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिई काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिइन् ।
शय्या पर्याप्त छः स्वास्थ्यमन्त्री
सो अवसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडको खोप प्रयोगमा आए नेपाली नागरिक त्यसबाट वञ्चित हुन नपर्ने गरी सरकारले कामकारबाही अघि बढाएको जानकारी दिए । अस्पतालमा शय्या पर्याप्त भएको जनाउँदै मन्त्री ढकालले कोभिडबाट संक्रमितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।
काठमाडौं उपत्यकाका विभिन्न सरकारी अस्पतालका निर्देशक तथा पदाधिकारीले कोभिड महामारीका समयमा आआफ्नो अस्पतालले गरेका काम तथा आगामी योजनाबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38DdTiq via IFTTT
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसहितको पत्र बुझेका छन् ।
कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि शाक्यलाई ल्याउने तयारी छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याइएको थियो ।
शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी दिर्नेशक बन्नुपर्नेमा अझै हुन नसकेको बताए। कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो ।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले आजैदेखि सम्हाल्ने मन्त्रालय स्रोतले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32u3nGs via IFTTT
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीहरुको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहितका सम्बद्ध निकायलाई सचेत गराएका हुन् ।
‘इन्टरनेट सेवाबारे सेवाग्राहीहरुको ठूलो गुनासो छ,’ सोमबार सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने,‘सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’
उनले हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधिको विकास गर्न जरुरी रहेको बताए । चीन, भारत, दक्षिण कोरियालगायतका मुलुक सूचना प्रविधिको विकासबाट सबल राष्ट्र बन्न सफल भएको दृष्टान्त पेश गर्दै उनले त्यसबाट सिकेर प्रविधिको विकास हुने गरी १० वर्षे कार्य योजना बनाएर अघि बढन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई आग्रह गरे । त्यसका लागि आवश्यक कार्यविधि, निर्देशिका, ऐन, नियमको आवश्यक व्यवस्था मिलाउन आफू तयार रहेको सञ्चारमन्त्री गुरुङको भनाई थियो ।
मन्त्री गुरुङले सूचना प्रविधिको विकासमा योगदान पु¥याउने गरी ‘थिंक टयाङ्क’को निर्माण तथा अनुसन्धानको काममा केन्द्रित हुन पनि सम्बन्धित क्षेत्रलाई विशेष ध्यान दिन आग्रह गरे । उनले सूचना प्रविधिको क्षेत्रमा कार्यरत सरकारी निकायले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अबल हुने गरी थप सेवा विस्तारको कामलाई अघि बढाउन ढिलाई गर्न नहुने उल्लेख गरे ।
मन्त्री गुरुङले कसैले गुनासो नगर्ने गरी ‘नागरिक एप्स’ संचालन गर्नुपर्ने बताए । सूचना प्रविधिको विकासका लागि त्यस क्षेत्रका विज्ञहरुको सुझावलाई ध्यानमा राखेर कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता औंल्याउँदै मन्त्री गुरुङले त्यसका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2IbeUDV via IFTTT
सिन्धुपाल्चोक । मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालयले आज सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो ।
कार्यालयका निमित्त कार्यालय प्रमुख गोवर्द्धन ढकालद्वारा जारी विज्ञप्तिमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनमा पनि आलोपालो सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् ।
जारी सुचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतबार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिइने छैन ।
नयाँ नीतिअनुसार सोमबार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलबार बाह्रबिसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधबार त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, बिहीबार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रबार सुनकोशी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kcMPsK via IFTTT
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lcYbOO via IFTTT
सर्लाही । नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि गाउँले मिलेर आक्रमण गरेका छन् । जिल्लाको दक्षिण-पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा विद्युत् चोरी नियन्त्रणका लागि खटिएका उनीहरूमाथि गाउँलेले कुटपिट गरेका हुन् ।
हुकिङ हटाई विद्युतीय उपकरणहरु बरामद गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएका ती कर्मचारी टोलीमाथि गाउँलेहरुले घेरा हालेर आक्रमण गरेका हुन् । प्रहरीसहित दुईवटा गाडीमा महिनाथपुर पुगेका कर्मचारीलाई विद्युत् चोरी गर्न लगाइएको उनीहरूमाथि गाउँले मिलेर गाडीमा ढुङ्गामुढा गर्न थालेपछि केही कर्मचारी आत्तिदै भागेका र दुई जनालाई प्रहरीले उद्धार गरेर ल्याएको वितरण केन्द्र प्रमुख वितरण केन्द्र प्रमुख जयानन्द झाले बताए ।
त्यहाँ वडाध्यक्ष समेतले आफ्नो वडा कार्यालयमा हुकिङ लगाएका बताइएकाे छ । महिनाथपुरको वडा कार्यालयमा समेत विद्युत् चोरी गरेपछि बाँकी स्थानीयले पनि लगाउने गरेकाे पाइएकाे प्राधिकरणले जनाएकाे छ ।
वितरण केन्द्र प्रमुख झाले भने, ‘अब स्थानीय आफैंले चुहावट नियन्त्रणको काम गर्ने वा हामीलाई सहज रुपमा गर्न दिने सहमति नहुन्जेल लाईन जोड्दैनौँ ।’ यो बारेमा सबै निकायमा जानकारी गराइएको झाले बताए ।
कर्मचारीमाथि आक्रमणको घटनापछि प्राधिकरणले महिनाथपुर क्षेत्रमा बत्ती काटेको छ । स्थानीय जनप्रतिनिधि आएर चुहावट नियन्त्रणमा सहयोग गर्ने र आगामी दिनमा कर्मचारीमाथि आक्रमण हुन नदिने सहमति नगरेसम्म बत्ती नछाडिने बरहथवा वितरण केन्द्रले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2JH3Tu9 via IFTTT
काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।
पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका प्रशासन तथा सुरक्षा प्रमुखसँग आज भएको छलफलमा उनले पहिला आफू सुरक्षित हुनुका साथै नागरिकको सुरक्षामा तैनाथी रहन निर्देशन दिएका हुन् ।
सधैँधैभरी बन्दाबन्दी गरेर मात्रै सम्भव नहुने बताउँदै उनले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउन र विकास निर्माणका काममा गुणस्तरीयता र समतालिकालाको पालना गराउन आग्रह गरे ।
छलफलमा सहभागी पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा कोरोना भाइरसको रोक थाम तथा नियन्त्रणका विविध प्रयत्नहरु जारी रहेको जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jZGpgs via IFTTT
सरकारले १ मंसिरदेखि सबै मुलुकका विदेशी पर्यटकलाई नेपाल आउन दिने तयारी गरेको छ । यसअघि १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन अनुमति दिइएको छ । पर्यटन व्यवसायीहरूको सुझाबका आधारमा पर्यटन मन्त्रालयले पर्यटनका सबै गतिविधि खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।
व्यवसायीहरूको सुझाबका आधारमा सबै गतिविधि खुलाएर जाने गरी प्रस्ताव पठाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले बताए । ‘देशको अर्थतन्त्र उकास्न पनि गतिविधि खोल्दै जानुको विकल्प नदेखिएकाले खोल्ने प्रस्ताव गरेका हौँ,’ रेग्मीले भने ।
नेपाल पर्यटन बोर्डले गठन गरेको टुरिजम रिकभरी टास्कफोर्सले कार्यविधि तयार पार्दै १ मंसिरदेखि ९२ घन्टाअघिको पिसिआर रिपोर्टलाई मान्यता दिएर विदेशी पर्यटकलाई खुला गर्ने प्रस्ताव तयार पारेको हो । कार्यविधिअनुसार विदेशी पर्यटकलाई खुला गरेमा पर्वतारोहण र पदयात्राबाहेक सहरी क्षेत्र तथा अन्य गन्तव्यमा समेत विदेशी पर्यटकलाई खुला हुनेछ ।
फोर्सले तयार पारेको कार्यविधिमा विदेशी पर्यटकलाई ३ दिन मात्रै होटेल क्वारेन्टाइनमा राख्ने उल्लेख गरिएको छ । टास्कफोर्सले तयार पारेको कार्यविधि मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गर्नेछ । सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा मंसिरदेखि सबै प्रकारका देश र गन्तव्यमा जान चाहने विदेशी पर्यटकलाई नेपाल खुल्नेछ । हाल दैनिक २५ वटा समूहसम्मले पर्वतारोहण तथा पदयात्राका लागि नेपाल पर्यटन बोर्डबाट अनुमति लिइरहेका छन् ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष तथा टास्कफोर्सका सदस्यसमेत रहेका खुम सुवेदीका अनुसार कार्यविधि तयार पारेर पर्यटन मन्त्रालय र सिसिएमसीमा पठाइएको छ ।
कार्यविधिमा पर्यटकलाई तीन दिन होटेलमै राख्नका लागिसमेत प्रस्ताव गरेको उनले बताए । ‘संक्रमण बढेपछि अब विदेशी रोक्नुको कुनै अर्थ नभएकाले सबै किसिमको गतिविधि खुलाउन भनेका हौँ,’ टानका अध्यक्ष सुवेदीले भने । कार्यविधि कार्यान्वयनमा आए टुर, ट्राभलदेखि, र्याफ्टिङ, बन्जीजम्प, प्याराग्लाइडिङ, जंगल सफारीलगायत सबै गतिवधि खुल्ने सुवेदीले बताए । टास्कफोर्समा नेपाल पर्यटन बोर्ड, एसिया प्यासिफिक नेपाल च्याप्टर (पाटा), टान, हान, नाट्टा र नारामा अध्यक्षहरू सदस्य रहेका छन् ।
कोभिड–१९ को संक्रमणका बीच नेपाल भ्रमणमा विदेशी पर्यटक आउन थालेका छन् । चैत ११ देखि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै बन्द गरिएको पर्यटन क्षेत्रले ७ महिनामा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको थियो । चैत ५ देखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले यसअघि नै खुलाइसकेको छ । इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथियोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउने गरेका छन् ।
नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्थामा वा समूहमा पर्वतारोहण वा पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वस्वीकृति लिई नेपाल आउन सक्ने व्यवस्था गरिएको छ ।
नेपाल आउने सबै पर्यटकलाई ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्नेछ ।
भारतसँगको उडान अझै अन्योल
नेपाल र भारतबीच ११ चैत ०७६ यता रोकिएको हवाई उडान अझै अन्योल कायमै रहेको छ । भारत सरकारले सुरु गरेको ‘एयर बबल स्किम’मार्फत उडान थाल्न गत सेप्टेम्बरमै नेपाललाई प्रस्ताव गरेको थियो । यता नेपाल वायुसेवा निगमले पनि भारतसँगको उडान खुलाउन आग्रह गर्दै आएको भए पनि हालसम्म पनि सरकारले निर्णय गरेको छैन ।
निगमले भारतीय तीनवटा सहरबाट नियमित उडान गर्दै आएको थियो । निगमको सबैभन्दा ठूलो आम्दानीको स्रोत दिल्ली गन्तव्यसमेत हो । पर्यटन मन्त्रालयले भारतमा उडान सञ्चालन गर्ने गरी प्रस्ताव सिसिएमसीमा पठाएको थियो ।
तर, सिसिएमसीले भारतमा संक्रमण उच्चदरमा फैलिरहेको भन्दै उडान खुलाउन नमानेपछि भारतसँगको उडान खुल्न सकेको छैन । अन्य देशसँग भने गत १७ भदौदेखि नै उडान सुरु भइसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Ig51EJ via IFTTT
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुटबन्दी रोकेर पार्टी एकताको पक्षमा उभिन सुझाव दिएका छन्। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई स्थायी कमिटीको निर्णय अनुसार अघि बढ्न समेत भनेका थिए।
‘स्थायी कमिटीको निर्णय अनुसार अगाडि बढ्ने, पार्टी एकता रक्षा गर्ने, पार्टी सञ्चालन गर्ने, महाधिवेशन गर्ने र समझदारी अनुसार अगाडि बढ्ने हो कि दिनकै विभिन्न ठाउँमा गुटका बैठक बस्ने हो? सचिवालयका चार जनालाई कहिले कहाँ बोलाउने, कहिले कहाँ जाने, यसो गरेरै अगाडि बढ्ने हो,’ प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘गुटबन्दी रोकेर मात्रै एकताको कुरा गर्नुस्। गुटबन्दीपूर्ण बैठक गरेर के गरेको हो?’
प्रधानमन्त्री ओलीले आफूहरूको सम्बन्ध पार्टी एकताको सम्बन्ध भएको भन्दै पार्टी एकता जोगाउन तत्काल गुटबन्दी बन्द गर्न प्रचण्डलाई भनेको ती नेताले सेतोपाटीलाई बताए।
आइतबार प्रचण्ड निवास खुमलटारमा उनीसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा भेला भएका थिए। भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अलग गर्न प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए।
त्यस्तै ६ नेताको बैठकले सचिवालय बैठक बोलाउनपर्ने र पार्टी एकताका लागि हदैसम्मका प्रयास गर्ने निष्कर्ष निकालेको थियो। बिहीबार प्रचण्ड र नेपालले आफू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए।
प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले दुई जना मात्रै बसेर नहुने भन्दै अब पार्टीको बैठक बोलाउन भनेको प्रचण्ड निकट एक नेताले सेतोपाटीलाई बताए। जवाफमा प्रधानमन्त्रीले बैठक नबोलाउने बताएका थिए।
‘एक्लाएक्लै या दुई जना बसेर हुँदैन। अब बैठक बोलाउनपर्छ,’ प्रचण्डका भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘तपाईंले ठीक गर्नुभएको छैन। नयाँ पार्टीको अभ्यास थाल्नुभएको छ। प्रदेशमा बहस चलाउन थाल्नुभएको छ।’
प्रधानमन्त्री ओलीले बुधबार प्रदेश १ का आफू निकट नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए। छलफलमा ओलीले पार्टीभित्र गुटबन्दी बढेको र त्यसको नेतृत्व प्रचण्ड र नेपालले गरेको आरोप लगाएका थिए।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा समेत प्रधानमन्त्रीले आफ्नाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र अस्थिरता मच्चाउने षडयन्त्र भएको भन्दै त्यसलाई परास्त गर्ने चेतावनी दिएका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k2Nmxg via IFTTT
हुम्ला। राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको हुम्लामा अहिले पनि दैनिक उपभोग्य सामानहरु खच्चड बाटै ओसार्ने गरिन्छ ।
चार हजार मिटरभन्दा अग्लो हिमालको बाटोबाट दैनिक सयौँ खच्चड सामान बोकेर ओहोर–दोहोर गरिरहेका हुन्छन् ।
जिल्लाका अधिकांश युवा पुस्ताको दैनिकी खच्चडसँगै बित्ने गरेको छ ।
मुगु–हुम्ला र बाजुरा–हुम्लाका सडकमा दैनिक सयाैँको संख्यामा सामान ढुवानी गर्ने खच्चडको लर्को भेटिन्छन ।
कुनै समय बाटो हिँड्नसमेत गाह्रो पर्ने चंखेली लेकमा पछिल्लो समय भने खच्चडबाट युवापुस्ता दैनिक उपभोग्य वस्तु ढुवानीमा व्यस्त देखिन थालेका छन् ।
जुम्ला पातारासी गाउँपालिका–७ पटमाराका दिनेश बुढा उमेरले १७ वर्षका भए, तर गाउँमा केही आम्दानी नभएपछि दुई वर्षदेखि मुगुको गमगढीदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म दैनिक उपभोग्य वस्तुको खच्चडबाटै ढुवानी गर्दै आएको बताउँछन ।
घरमा परिवार संख्या ठूलो भएको र गाउँमा कमाइ केही नहुने हुनाले खच्चरबाट ढुवानी गर्ने कामदारको रूपमा हुम्ला पुगेको बुढाको भनाइ छ । महिनामा खच्चर मालिकले १५ हजार रुपैयाँ दिन्छ, त्यही पैसाले घरखर्च चलाउँदै आएको बुढाले बताउनुभयाे ।
जुम्ला पातारासी गाउँपालिका– ७ पटमाराकै वीरेन्द्र थापा खच्चड व्यवसायमा लागेको आठ वर्ष भयो । सुरुमा सडक सञ्जालसँग नजोडिएको कर्णालीका कालिकोट, जुम्ला, मुगुसम्म दैनिक खच्चडबाटै सामान ढुवानी गर्दै आएका उनी तीन जिल्लामा मोटरबाटो पुगेपछि खच्चड व्यवसाय विस्थापित हुँदै गएको बताउँछन ।
कालिकोट, मुगु र जुम्लामा सडक पुगेपछि सामान गाडीबाट ढुवानी हुन थालेकोले हुम्ला जिल्लातर्फ खच्चड व्यवसाय गर्न थालेको उनको भनाइ छ । अहिले उनले खच्चरबाटै मासिक ७० देखि ८० हजार रुपैयाँ कमाउने गर्छन।
मुगु–हुम्ला आवतजावत गर्न आठ दिन लाग्ने गरेको छ । चंखेली हुँदै हुम्लाका विभिन्न स्थानमा झन्डै सातदेखि आठवटा खच्चडबाट सामान ढुवानी हुँदै आएको छ ।
मुगुको गमगढीदेखि हुम्लाको सातवटै स्थानीय तहमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान खच्चडबाट ढुवानी हुँदै आएको छ ।
नुन, तेल, चामल, सिमेन्ट, गाडीका लागि डिजल, पेट्रोलदेखि विकास निर्माणका आवश्यक सामान दैनिक खच्चरबाट सस्तो मूल्यमा हुम्ला पुग्ने गरेको छ ।
खच्चरबाट सस्तो मूल्यमा सामान ढुवानी हुन थालेसँगै निजी घर निर्माणका लागि जस्तापातासमेत खच्चडबाट ढुवानी हुने गरेको व्यवसायी बताउँछन् ।
खच्चडबाट सामान ढुवानी गर्दा मुगुबाट सिमकोटसम्म प्रतिकेजी ८० देखि ९० रुपैयाँ लाग्ने व्यवसायीहरु बताउँछन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32hpmjI via IFTTT
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् ।
यसअघि शुक्रबार (हिजो) काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जना लगरी जम्मा १४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3epksq1 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको यही कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको होे ।
बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।
बैठकमा स्व केसीप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उनको आत्माको चीर शान्तिको कामनाका गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए ।
पिता कीर्तिबहादुर र माता पदमकुमारीको ज्येष्ठ सुपुत्रको रुपमा २०१४ जेठ १० गते जन्मेका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/364K1sm via IFTTT
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद् अधिवेशन हुनुअघि व्यवस्थापिका संसद् भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । उनले संसद् भवनको सरसफाइ र सौन्दर्य कायम गर्नका लागि कुनै कन्जुस्याइँ नगर्न निर्देशन दिएका हुन् ।
मन्त्रालयको कार्यभार सम्हालेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, हाल व्यवस्थापिका संसद् भवनको निरीक्षण गर्न मंगलबार अपराह्न केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनको सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए । मन्त्रालयअन्तर्गत रहेको सो भवन २०६५ सालदेखि संसद् भवनको रुपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको प्रकाश र ध्वनि प्रणालीलाई व्यवस्थित गर्न पनि निर्देशन दिए ।
उनले संसद् भवनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षसमेत निरीक्षण गरेका थिए । सिंहदरबारमा निर्माणाधीन संसद् भवन तयार नभएसम्म सोही भवनमा संसद् अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्भार गरी भवनलाई साँच्चिकै संसद् भवनका रुपमा पहिचान गराउनुपर्ने बताए ।
मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद् भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए । केन्द्रका कार्यकारी निर्देशक विद्रोह दाहालले १ सय ५३ क्षेत्रफलमा रहेको सो भवनका आठ कक्षमा करिब दुई हजार क्षमता रहेको र करिब चार सय सवारी पार्किङ गर्न मिल्ने पार्किङस्थल रहेको बताए ।
उनले साबिकको बानेश्वर ब्यारेकका नाममा रहेको जग्गाको स्वामित्व केन्द्रका नाममा ल्याउनुपर्ने, नीतिगत रुपमा केन्द्रको गठन आदेश, कर्मचारी सेवाशर्त र आर्थिक नियमावली संशोधन गर्नुपर्नेलगायत समस्या रहेको जानकारी गराए । उनले संसद् अधिवेशन सञ्चालन गर्न सबै व्यवस्थापन केन्द्रले नै गर्दै आएको बताए । केन्द्रअन्तर्गत हाल १ सय ८ कर्मचारी कार्यरत छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32asLRk via IFTTT
काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चोर्दा चोर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एटीएम तोडफोड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्वर बस्ने १८ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले खाँडलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/382uQTm via IFTTT
काठमाडौं। सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ ।
सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले मन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार आज दर्ता भएको मन्त्री ढकालविरुद्धको उक्त मुद्दामा १ वर्ष कैद र दश हजार रूपैयाँ जरिवाना माग गरिएको छ ।
न्याय प्रशासन ऐनअनुसार अवहेलना ठहर भएमा एक वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
सर्वोच्च अदालतले गत असोज २७ गते निःशुल्क रुपमा कोरोना परीक्षण गर्न सरकारका नाममा परामदेश जारी गरेको थियो। सरकारले अदालतलको आदेशअनुसार निःशुल्क कोरोनाको परीक्षण गर्दै आएको थियो ।
तर मन्त्रालयले यही कात्तिक २ गतेदेखि गरिब तथा असहायलाई सरकारले निःशुल्क उपचार गर्ने, बाँकी संक्रमितका लागि पैसा तिरेर उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।
सोही निर्णयविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको हो । उक्त मुद्दाको सुनुवाई मङ्गलबार तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eiQRhT via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको छ ।
देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mKAUUt via IFTTT
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधा भन्दा धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण भएको छ ।
काठमाडौंमा १ हजार ३ सय २९ जना, भक्तपुरमा १ सय ८ जना र ललितपुरमा १ सय ९३ जनाजनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
देशैभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ३३ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३७ हजार ९ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jZYdIt via IFTTT